यस वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट

आश्विन ४, २०८१ |सुदिल पोखरेल
यस वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट

काठमाडौं । राष्ट्र बैंकले यसवर्ष दसैँका बेलामा नयाँ नोटको साटो सुकिला नोट बाँडेर करिब २ अर्ब जोगाउन खोजेको छ । दसैँका बेलामा नोट बजारमा जाने र त्यसमध्ये करिब २५ प्रतिशत रङ लागेर फेरि छाप्नुपर्ने भएपछि त्यस्तो खर्च बचाउन राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने निष्कर्षमा पुगेको हो । 

नोट छपाइमा लाग्ने खर्च बचाउने योजनामा रहेको राष्ट्र बैंक सुकिला नोटको प्रयोगमा भने त्यति जिम्मेवार बन्न सकेको छैन । 

नेपाल राष्ट्र बैंकले आगामी असोज १३ गतेदेखि सुकिला नोट सटही गर्न लागेको छ । विगतका वर्षमा दसैँमा नयाँ नोट साट्ने राष्ट्र बैंक यो वर्ष भने नयाँ नोट सटही नगर्ने निर्णयमा पुगेको छ । विगतका ३ वर्षको अवस्था हेर्ने हो भने बजारमा गएकामध्ये ९० प्रतिशत नयाँ नोट दसैँका बेलाका हुने गर्थे । तर यस्ता नोटमध्ये करिब २५ प्रतिशत फोहोर भएर पुनः छाप्नुपर्ने स्थिति भएपछि राष्ट्र बैंकले ढुकुटीमै भएको सुकिला नोट चलाउने निर्णय गरेको हो । यसरी यो वर्ष नयाँ नोट सटही नगर्दा दुई अर्ब बच्ने राष्ट्र बैंक बताउँछ ।

अबिर र टीका लागेर फोहोर भएका नोट आफ्नो प्रणालीमा आइपुगेपछि राष्ट्र बैंकले त्यसको सट्टामा नयाँ नोट छाप्ने गरेको छ । जसले गर्दा राज्यले नयाा नोटमा बर्सेनि ठूलो खर्च गर्नुपरेको छ । नोटमा केरमेट पनि हुने गरेको छ, जसलाई रोक्न सरकारले कडा कानुन पनि ल्याएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार नोटमा केरे वा लेखेमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । न त राष्ट्र बैंक आफैले ल्याएको सफा नोट नीति नै कार्यान्वयनमा ल्याउन सकेको छ ।

सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गरे पनि दसैँका बेला दक्षिणामा अझै पनि नयाँ तथा सुकिला नोटकै खोजी हुने गर्छ । जसले गर्दा सुकिला नोटमा रङ लागेर पुनः छाप्नुपर्ने स्थिति छ । त्यसैले सुकिला नोट सटहीमात्रै हैन, सुरक्षित रुपमा नोटको प्रयोग बढाउन कानुन कार्यान्वयन र जनचेतना जगाउनु जरुरी छ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement