भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच मुठभेड हुँदा दुई सैनिकको मृत्यु

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच मुठभेड हुँदा दुई सैनिकको मृत्यु

काठमाडौं । भारतको जम्मु कश्मीरको किश्तवाडस्थित चतारुमा गएराति भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको मुठभेडको क्रममा दुई सैनिकको मृत्यु भएको छ । मारिनेमा हृवाइट नाइट कर्पसका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेको बताइएको छ ।

मुठभेडको क्रममा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते भएका दुई सैनिकको उपचार भने भइरहेको बताइएको छ । चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश-ए-मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको गुप्तचर सूचनापछि सुरक्षा बलले खोज अभियान सुरु गरेको थियो । त्यसपछि मुठभेड सुरु भएको बताइएको छ । उक्त क्षेत्रमा दुवै पक्षबीच मुठभेड अझ जारी रहेको बताइएको छ ।

विधानसभा चुनावको सन्दर्भमा डोडामा प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभा हुनुभन्दा केही घण्टाअघि उक्त घटना भएको बताइएको छ । आक्रमण स्थलदेखि डोडाको दुरी करिब २० किलोमिटर रहेको छ । त्यस्तै गएराति बारामुलाको चक टेप्पर क्रिरी पट्टन क्षेत्रमा पनि सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको त्यहाँको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत १८ सेप्टेम्बरमा मतदान हुँदैछ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको भने र सुरक्षा व्यवस्थालाई हाई अलर्टमा राखिएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement