काठमाडौं । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा इस्लामिक लडाकू समूह बोको हरामले आक्रमण गरी ४० किसानको हत्या गरेको छ ।
गत वर्षको सेप्टेम्बरमा आएको बाढी र विद्रोहका कारण वर्षौंदेखिको असुरक्षा र विस्थापनले बोर्नोमा बढ्दो खाद्य संकटका बीच बोको हरामले आक्रमण गरेर किसानको हत्या गरेको हो । बोर्नो राज्यका गभर्नर बाबागाना उमरा जुलुमले बोको हराम समूह र यसको टुक्रिएको गुटका विद्रोहीले किसानमाथि आक्रमण गर्दा ४० जना किसानले ज्यान गुमाएको बताउनुभएको हो ।
आक्रमणपछि उक्त क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । राज्यका गभर्नर बाबागानाले नागरिकलाई तोकिएका सुरक्षित क्षेत्रमा बस्न अपील गर्नुभएको छ ।
यस्तै गभर्नरले सेनालाई आक्रमणका विषयमा अनुसन्धान गर्न र आतंककारी समूहविरुद्ध कारबाही गर्न माग गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै जघन्य हिंसात्मक कार्यका दोषीविरुद्ध सशस्त्र बल प्रयोग गर्ने गभर्नरले चेतावनी दिनुभएको छ ।
यस्तै आक्रमणपछि किसानहरू सुरक्षित स्थान खोज्दै सेनाद्वारा स्थापित सुरक्षा करिडोर बाहिर बारुदी सुरुङले भरिएको क्षेत्रमा प्रवेश गरेको हुन सक्ने भन्दै सुरक्षाकर्मीले खोजी गरिरहेको छ ।