बंगलादेशको राजनीतिक परिवर्तनमा आफ्नो संलग्नता नरहेको अमेरिकाको प्रस्टोक्ति

हसिनालाई सत्ताच्युत गराउने जनताको निर्णयको सम्मान गर्ने ह्वाइट हाउसको भनाइ
श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशको राजनीतिक परिवर्तनमा आफ्नो संलग्नता नरहेको अमेरिकाको प्रस्टोक्ति

काठमाडौं । अमेरिकाले हालै बंगलादेशमा भएको सत्ता परिवर्तनमा आफ्नो संलग्नता नभएको प्रस्ट पारेको छ ।

बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता गुम्नुमा अमेरिकाको भूमिका रहेको बताएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेपछि ह्वाइट हाउसले खण्डन गरेको हो । बंगलादेशमा भएको राजनीतिक परिवर्तनमा आफ्नो संलग्नताको आरोप झुटो भएको अमेरिकाले जनाएको हो । 

बंगलादेशी जनताको मागबमोजिम सत्ता पलट भएको ह्वाइट हाउसकी प्रवक्ता करिन पियरको भनाइ छ ।  शेख हसिनालाई सत्ताच्युत गराउने निर्णय बंगलादेशी जनताले आफै रोजेको र यसमा आफूहरुको पूर्ण समर्थन रहेको ह्वाइट हाउसको भनाइ छ । त्यस्तै शेख हसिनाका छोरा साजिब वाजेद जोयले पनि प्रकाशित रिपोर्टको खण्डन गर्दै पूर्ण रुपमा गलत रहेको बताउनु भएको छ । 

जोयले आफ्नी आमाको सत्ताच्युतमा अमेरिकी संलग्नताबारे प्रकाशित रिपोर्ट झुटो र मनगढन्ते भएको स्पष्ट पार्नुभएको हो । केहीदिन अघिमात्र शेख हसिनाले आफू सत्ताच्युत हुनुमा अमेरिका संलग्न रहेको बताएको भन्दै दि इकोनोमिक टाइम्स र दि प्रिन्टले समाचार प्रकाशित गरेका थिए । यसैबीच बंगलादेशको विदेश मन्त्रालयका  सल्लाहकार मोहम्मद तौहिद हुसेनले विद्यार्थी आन्दोलनपछि देश छाडेकी शेख हसिनालाई पुनः फिर्ता बोलाउन प्रभावकारी कदम चाल्ने बताउनु भएको  छ। 

यदि कानुन मन्त्रालयले अनुमति दिए आफूहरुले हसिनालाई स्वदेश फर्काउने प्रयास गर्ने उहाँको भनाइ छ । त्यस्तै आज शेख हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दायर गरिएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement