काठमाडौं । इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानले सपथ लिनुभएको छ । यसै महिनाको सुरुवातमा भएको राष्ट्रपतीय चुनावमा विजयी हासिल गरेपछि उहाँले हिजो औपचारिक रुपमा सपथ लिनुभएको हो ।
विश्वसँगको सम्बन्ध सुधार र इरानमा सामाजिक स्वतन्त्रतामा लगाइएका प्रतिबन्धहरू कम गर्ने वाचा गरेर उहाँले यसै महिनाको सुरुवातमा भएको चुनावमा विजयी हासिल गर्नुभएको थियो । सपथ लिएपछि राष्ट्रपति पेजेस्कियानले विदेशी गणमान्य व्यक्तिहरू उपस्थित भएको संसद् बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले राष्ट्रिय हित, विश्वमा शान्ति र सुरक्षाको आवश्यकताहरूमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै पश्चिमासँगको इरानको तिक्ततापूर्ण सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । जसले विश्व शक्तिहरूसँगको आणविक गतिरोधलाई निरुत्साहित गर्ने अवसर सिर्जना गर्न सक्ने बताइएको छ ।
तर, पेजेस्कियानले गाजामा हमाससँग इजरायलको द्वन्द्व र लेबनानमा इरानको सहयोगी हिजबुल्लाह समूहसँगको लडाइँलाई लिएर मध्यपूर्व तनाव बढेको समयमा पदभार ग्रहण गर्नुभएको छ । यसले उहाँको कार्यकालमा नयाँ चुनौतीहरु थपेको बताइएको छ ।
पेजेस्कियानको सपथ ग्रहण समारोहमा हमासका प्रतिनिधि, इस्लामिक जिहादका नेताहरूका साथै यमन समर्थित हुथी समूहका प्रतिनिधि र हिजबुल्लाहका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए । पेजेस्कियानले सपथ ग्रहण समारोह अघि नै चरमपन्थी र कट्टरपन्थी समूहका नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरी इरानको समर्थन रहेको आश्वासन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।