काठमाडौं । इजरायलले हिजबुल्लाह समूहलक्षित लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गर्दा हिजबुल्लाह कमान्डर फुआद शुक्रसहित एक महिलाको मृत्यु भएको छ ।
हवाई हमलामा दर्जनौँ घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । एजेन्सीका अनुसार घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। मृतकको संख्यमा वृद्धि हुनेसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।
इजरायली सेनाले आतंकवादी कमाण्डर लुकेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बेरुततर्फ तीनवटा रकेट प्रहार गरेको उल्लेख गरेको छ । उक्त आक्रमणसँगै लेबनानमा सक्रिय चरमपन्थी समूह हिजबुल्लाहसँग इजरायलको तनाव बढेको छ ।
गत साता गोलान हाइट्समा हिजबुल्लाह समूहले गरेको रकेट आक्रमणमा १२ बालबालिका मृत्यु भएको प्रतिकारमा इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली रक्षा मन्त्री योभ ग्लान्टले हिजबुल्लाहले आफ्नो सीमा पार गरेको कारण आक्रमण गरेको बताउनुभएको छ ।
यता लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले उक्त आक्रमणको निन्दा गर्नुभएको छ भने इजरायलले चालेको कदमलाई अपराधीक गतिविधिको संज्ञा दिनुभएको छ । हिजबुल्लाहका एक अधिकारीले बेरुतको दक्षिणमा हिजबुल्लाहको गढमा इजरायली हवाई आक्रमणले क्षति पुर्याएको पुष्टि गरेका छन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघले इजरायललाई संयमता अपनाउन आग्रह गर्दै मध्यपूर्वमा द्वन्द्वलाई थप भड्किन नदिन पहल गर्न समेत भनेको छ । लेबनानमा युद्धको खतरा भएसँगै बेलायत, भारत, आयरल्यान्डलगायत मुलुकले आफ्ना नागरिकका लागि सुरक्षित रहनआग्रह गरेको छ ।