अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी को ?

अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडनद्वारा कमला ह्यारिसलाई समर्थन
बाइडेनलाई भन्दा ह्यारिसलाई हराउन सजिलो हुने ट्रम्पको प्रतिक्रिया
श्रावण ७, २०८१ |प्रभात सिंह
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी को ?

काठमाडौं । राष्ट्रपतीय चुनाव आउन १ सय दिन मात्र बाँकी रहेको अवस्थामा अमेरिकाको चुनावी माहोलले एकाएक रोचक मोड लिएको छ । चौतर्फी दबाबका बीच राष्ट्रपति जो बाइडन चुनावी प्रतिस्पर्धाबाट पछि हटेपछि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिसको चर्चा चुलिएको छ । बाइडेन पछि हटेपछि रिपब्लिकन पार्टी भने अब डोनाल्ड ट्रम्पको ह्वाइटहाउस पुनरागमन अझ सजिलो हुने भन्दै उत्साहित छ ।

गत जुन २७ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग भएको प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुतिपछि आफ्नै पार्टीबाट दबाब पर्दासमेत पछि नहट्ने दृढता राष्ट्रपति जो बाइडनको थियो । उहाँले ‘अब भगवानले मात्र आफूलाई हटाउन नसक्ने’ सम्म भन्नु भएको थियो । तर, परिस्थितिले साथ दिएन । कोरोना संक्रमणपछि डेलावेयरस्थित निवासमै आराम गरिरहेका बेला अचानक प्रतिस्पर्धाबाट पछि हट्ने घोषणा उहाँले गर्नुभयो ।

बाइडनले राष्ट्रपतिमा कमला ह्यारिसलाई समर्थन गर्ने बताइसक्नु भएको छ । गत बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ह्यारिस राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार हुने संकेत गर्नु भएको थियो । तर, यसको औपचारिक घोषणा बुधबार क्यालिफोर्नियामा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनले गर्नेछ । कमला ह्यारिस राष्ट्रपति उम्मेदवार भएमा अमेरिकी इतिहासमै केही रेकर्ड कायम हुनेछन् ।

उहाँ राष्ट्रपतिको उम्मेदवार हुने पहिलो अश्वेत महिला तथा पहिलो एसियन–अमेरिकी महिला हुनुहुनेछ । नयाँ घटनाक्रमयता ह्यारिसले सांसद, गभर्नरलगायतका १ सयभन्दा बढी नेताहरुलाई भेट गरिसक्नु भएको छ । जो बाइडन चुनावी प्रतिस्पर्धाबाट पछि हटेपछि रिपब्लिकन पार्टी उत्साही छ । पेन्सिलभेनियामा भएको चुनावी सभामा हत्या प्रयासपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लोकप्रियता बढिरहेको थियो ।

त्यसमाथि बाइडेनको पछिल्लो निर्णयका कारण ट्रम्पको ह्वाइटहाउस पुनरागमन झन् सहज हुने आँकलन गर्न थालिएको छ । एक चुनावी र्‍यालीमा ट्रम्पले बाइडनभन्दा ह्यारिसलाई हराउन सजिलो हुने वक्तव्य दिइसक्नु भएको छ ।

हालै सीएनएनले गरेको सर्वेक्षण अुनसार ट्रम्प र ह्यारिसको लोकप्रियता समान देखिएको छ । सर्वेक्षणले ट्रम्पलाई ४७ प्रतिशत र ह्यारिसलाई ४५ प्रतिशत नागरिकले समर्थन गरेको देखिएको छ । ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने डेमोक्र्याट्सको संख्या बढ्दै गए पनि पूर्व राष्ट्रपति बाराक ओबामाले भने खुला रुपमा ह्यारिसलाई समर्थन गरिनसकेकाले यो विषयमा अझै अन्योल नै छ ।

हेर्नुहोस् प्रभात सिंहका थप स्टोरी ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement