काठमाडौं । कोभिड सङ्क्रमण भएर तत्कालका लागि चुनावी अभियान स्थगित गर्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि चुनाव नलड्न आफ्नै पार्टीका उच्च तहका नेताबाट समेत दबाब सिर्जना भएको छ । गत महिना पूर्वराष्ट्रपति डनल्ड ट्रम्पसँग भएको चुनावी बहसमा कमजोर प्रस्तुति दिएयता बाइडेनमाथि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी नहुन दबाब पर्दै आएको छ ।
अमेरिकी संसद्का दुई शीर्ष डेमोक्र्याटहरु माथिल्लो सदन सिनेटमा संसदीय दलका नेता चक सुमर र तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका हकीम जेफ्रीजले केही दिनअघि बाइडेनलाई छुट्टाछुट्टै भेटी उहाँको चुनावी अभियानप्रति चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । भेटमा दुवै नेताले उहाँ राष्ट्रपति पदको प्रत्याशीमा रहिरहँदा संसद्को दुवै सदन डेमोक्र्याटको नियन्त्रणमा राख्ने अवसरमा धक्का पुग्न सक्ने तर्फ सचेत गराएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।
अमेरिकामा नोभेम्बर ५मा राष्ट्रपतीय निर्वाचनका साथसाथै संसद्को तल्लो सदनका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका एक सयमध्ये ३४ सिटका लागि पनि निर्वाचन हुँदै छ । अहिले माथिल्लो सदन सिनेटमा डेमोक्र्याटको र तल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।
संसद्की पूर्व सभामुख न्यान्सी पेलोसीले पनि हालै बाइडेनसँग भएको टेलिफोन संवादमा ताजा मत सर्वेक्षणले बाइडेनले ट्रम्पलाई पराजित गर्न नसक्ने देखाएको र उहाँले उम्मेदवारी कायम राखेको अवस्थामा त्यसको नकारात्मक असर संसदीय निर्वाचनमा समेत पर्न सक्ने तर्फ सजग गराएको सीएनएले उल्लेख गरेको छ ।
हालसम्म दुई दर्जनभन्दा बढी डेमोक्र्याट नेताहरूले बाइडेनलाई चुनाव नलड्न र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सार्वजनिक रूपमै आह्वान गरिसकेका छन् । बाइडेनले भने अहिलेसम्म चुनावी प्रतिस्पर्धाबाट नबाहिरिने दृढता व्यक्त गर्दै आउनु भएको छ ।
यसैबीच बेट न्युजले बुधवार राती प्रसारण गरेको अन्तर्वार्तामा बाइडेनले, पहिलो पटक, चिकित्सकले स्वास्थ्यमा कुनै गम्भीर समस्या रहेको बताएको अवस्थामा मात्र आफूले चुनाव नलड्ने विषयमा विचार गर्ने बताउनु भएको छ ।