चुनावी दौडमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण

सामान्य लक्षण देखिएको ह्वाइट हाउसको दाबी
श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चुनावी दौडमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई कारोना संक्रमण पुष्टि भएको छ । लस भेगसको भ्रमणमा रहेका बेला बाइडन कारोना संक्रमित हुनुभएको ह्वाइट हाउसले जनाएको हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन-पियरेले ८१ वर्षीय बाइडनको स्वासप्रस्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभएको छ । तर, हाल उहाँको अवस्था भने सामान्य रहेको ह्वाइट हाउसले जनाएको छ ।

कोरोना संक्रमित भए पनि स्वास्थ्य उपचारपछि उहाँ आफ्नो पूर्व निर्धारित चुनावी र्‍यालीलाई सम्बोधन गर्न सक्नुहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कारोना संक्रमण देखिएपछि बाइडनलाई कारोना खोपका साथ बुस्टर डोज पनि दिइएको प्रेस सेक्रेटरी पियरेले जनाउनु भएको छ ।

बाइडन भने आफूलाई आइसोलेसनमा राख्न आज उहाँ डेलावेयरस्थित आफ्नो निजी निवासका लागि प्रस्थान गरिसक्नुभएको छ । प्रस्थान गर्ने क्रममा बाइडनले आफू ठिक महसुस गरिरहेको बताउनुभएको छ ।

बाइडन जुन २७ मा आफ्नो प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँगको प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुति गरेपछि उहाँको स्वास्थ्य अवस्थालाई लिएर निरन्तर राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न आफ्नै पार्टीबाट दबाब बढ्दै गएको छ ।

यसैबीच बाइडनलाई कारोना संक्रमण पुष्टि भएसँगै थप आलोचना हुने आँकलन गरिएको छ । त्यस्तै हिजो मात्र अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सासंद एडम स्किफले बाइडन उम्मेदवारीबाट पछि हटेर अन्यलाई मौका दिनु पर्ने सुझाउनुभएको छ । उहाँसँगै बाइडनलाई उम्मेदवारी दिनबाट पछि हट्न भन्ने सासंदको संख्या १२ भन्दा अधिक पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित