अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, एफबीआईद्वारा अनुसन्धान सुरु

चुनावीसभामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
असार ३०, २०८१ |हरहरि उपाध्याय
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, एफबीआईद्वारा अनुसन्धान सुरु

काठमाडौं । अमेरिकामा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास भएको छ । यही नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन प्रत्यासी ट्रम्पले पेन्सिलभेनियाको बटलर सहरमा चुनावीसभामा भाषण गरिरहेकै बेला गोली प्रहार भएको हो ।

उहाँको दाहिने कानमा गोली लागेको छ । तर, यो घटनाले अमेरिकाको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । अमेरिकी राजनीतिमा दशकौंदेखि निर्मित सुरक्षा सुनिश्चितताको भ्रमलाई यो घटनाले नाटकीय रुपमा क्षतविक्षत् पारिदिएको टिप्पणी बीबीसीले गरेको छ ।

४३ वर्षअघि अर्थात् मार्च ३० सन् १९८१मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनमाथि जोन हिंकली जुनियरले गोली प्रहार गरेको घटनायता अमेरिकी इतिहासमा राष्ट्रपति वा राष्ट्रपति पदका उम्मेदवारमाथि यस किसिमको हिंसात्मक आक्रमण भएको थिएन । त्यतिखेर फोक्सोमा गोली लागेका रिगन बाँच्न सफल भएका थिए । अमेरिकी इतिहासलाई हेर्दा चार बहालवाला राष्ट्रपति र एकजना राष्ट्रपति पदका उम्मेदवारको हत्या गरिएको छ । अन्य केही भने हत्या प्रयासबाट जोगिएका छन् ।

पाँच दशकअघिको कुरा गर्ने हो भने अमेरिकी इतिहासको कालो समयमा फर्किनुपर्ने हुन्छ । सन् १९६३ को नोभेम्बर २२मा बहालवाला राष्ट्रपति जोन एफ केनेडी र १९६८ को जुन ५ मा उनका भाइ तथा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका दाबेदार रोबर्ट एफ केनेडीको गोली हानी हत्या गरिएको थियो ।

नागरिक अधिकारका नेताहरु मेडगर इभर्स, मार्टिन लुथर किंग जुनियर र माल्कम एक्सले पनि राजनीतिक हिंसामै ज्यान गुमाएका थिए । त्यसो त अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकनको हत्या १४ अप्रिल १८६५ मा गरिएको थियो । त्यस्तै १८८१ को सेप्टेम्बर १९ मा २०औं राष्ट्रपति जेम्स गेरफिल्ड, सेप्टेम्बर १४ सन् १९०१मा २५औं राष्ट्रपति विलियम म्याककिन्लेको पनि गोली हानी हत्या गरिएको थियो ।

अमेरिकी इतिहासमा एन्ड्रयु जेक्सन, फ्रेन्कलिन रुजवेल्ट, जर्ज वालेस, थियोडोर रुजवेल्ट, ह्यारी ट्रुम्यान, विलियम होवार्ड, गेराल्ड फोर्ड, जर्ज डब्लु बुस, बिल क्लिन्टनलगायत बहालवाला र पूर्वराष्ट्रपतिहरुको पनि हत्या प्रयास भएका छन् ।

पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्दा घाइते बनेका ट्रम्पको अवस्था सामान्य

बहालवाला राष्ट्रपति उनका परिवार तथा पूर्वराष्ट्रपति र उनका परिवारलाई सुरक्षा दिने मुख्य जिम्मेवारी सिक्रेट सर्भिसको हुने गर्छ । ट्रम्प पूर्वराष्ट्रपतिका साथै नोभेम्बरमा हुने चुनावका प्रत्यासी भएकाले सिक्रेट सर्भिस उनको सुरक्षामा थप चनाखो हुनुपर्ने हो ।

शनिबार साँझ भएको सुरक्षा चुकको जवाफदेहीता सिक्रेट सर्भिसमाथि नै पर्छ । संसद्‌को निगरानी समितिले सिक्रेट सर्भिसका निर्देशकलाई सोधपुछका लागि झिकाएको छ भने संघीय जाँच ब्युरो (एफबीआई) ले ट्रम्पको हत्या प्रयास भन्दै घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।

एफबीआईका दुई पूर्वएजेन्टहरुले बन्दुकधारीले गोली प्रहारका लागि प्रयोग गरेको र कार्यक्रमस्थलनजिकै रहेको एकतले घरको छतलाई सुरक्षाकर्मीले पहिल्यै किन आफ्नो नियन्त्रणमा नलिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ट्रम्पमाथि आक्रमणका लागि प्रयोग भएको घरको छतबाट ट्रम्प उभिएको स्थानसम्मको दूरी चार सयदेखि पाँच सय फिट मात्र भएको सीएनएनले जनाएको छ ।

यो सुरक्षा चुक मात्र थियो कि कुनै नियोजित षड्यन्त्र, एफबीआईको अनुसन्धानले बताउने नै छ । यो घटनाको अमेरिकी राजनीतिमा के कस्तो असर पर्छ अहिल्यै भनिहाल्ने अवस्था छैन । तर यो घटनाले नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनसम्म पुग्दा यस्तै प्रकृतिका थप राजनीतिक हिंसा त हुने होइनन् भन्ने चिन्ता र आशंका बढाइदिएको छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement