भारतको लोकसभाले एक दशकपछि पायो विपक्षी दलको नेता

कंग्रेसका राहुल गान्धी पहिलोपटक संवैधानिक हैसियतमा
विपक्षीलाई बेवास्ता गर्ने छुट मोदीलाई नभएको विश्लेषण
असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको लोकसभाले एक दशकपछि पायो विपक्षी दलको नेता

काठमाडौं । भारतमा संसद्को तल्लो सदन लोकसभामा कंग्रेस नेता राहुल गान्धी विपक्षी दलका नेता नियुक्त भएका छन् । भारतीय लोकसभाले एक दशकपछि विपक्षी दलको नेता पाएको हो ।

५४३ सदस्यीय लोकसभामा औपचारिक रुपमा विपक्षी दलको नेता नियुक्त हुन कुनै पनि दलले कुल सदस्य संख्याको कम्तिमा दश प्रतिशत अर्थात ५५ सिट जित्नु पर्नेहुन्छ । तर सन् २०१४ देखि कुनै पनि दलले सो संख्या जित्न सकेका थिएनन् । कंग्रेसले २०१४ मा जम्मा ४४ स्थानमा जितेको थियो भने २०१९मा ५४ सिट जितेको थियो । २०२४ को लोकसभा निर्वाचनमा भने क‌ंग्रेसले ९९ सिट जितेको छ ।

२००४ मा राजनीतिमा आएयता राहुल गान्धी पहिलो पटक कुनै संवैधानिक भूमिकामा नियुक्त भएका हुन् । संवैधानिक व्यवस्था अनुसार अब राहुल गान्धी महत्वपूर्ण संवैधानिक नियुक्ति गर्ने समितिमा रहने र मोदीको प्रतिसन्तुलकको भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । स्वयं कंग्रेस पार्टीले प्रतिपक्षी नेताका रुपमा राहुलले मोदी सरकार जहिले पनि उत्तरदायी बनोस भन्ने कुरा सुनिश्चित गर्ने बताएको छ ।

आफनो दल भारतीय जनता पार्टीले एकल बहुमत नल्याए पनि एनडीए गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका मोदीलाई अब पहिले जस्तो विपक्षीलाई बेवास्ता गर्दै एकल ढङ्गले अघि बढ्न छुट नहुने राजनीतिक विश्लेषकहरुको भनाइ छ । विपक्षी दलहरुले भाजपाको सरकारमाथि तानाशाही ढङ्गले अघि बढेको आरोप लगाउँदै आएकोमा राहुलको नियुक्ति भारतीय लोकतन्त्रका लागि सकारात्मक भएको केही विश्लेषकको धारणा छ । स्वयं राहुलका लागि पनि एउटा नेताका रुपमा यो परीक्षाको समय हुनेछ ।

लोकसभाको आज बसेको बैठकले निवर्तमान सभामुख ओम बिरलालाई पुन सभामुखमा निर्वाचित गरेको छ । ध्वनि मतका आधारमा बिरला सभामुख निर्वाचित भएका हुन् । लोकसभाको सभामुखका लागि विपक्षी इन्डिया गठबन्धनले कांग्रेस सांसद के सुरेशलाई अघि सारको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement