दिल्लीका मुख्यमन्त्री केजरीवाल २१ दिनपछि पुन: तिहाड जेल फिर्ता

नियमित जमानतका लागि दर्ता निवेदनमाथि बुधबार सुनुवाइ
जेष्ठ २०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दिल्लीका मुख्यमन्त्री केजरीवाल २१ दिनपछि पुन: तिहाड जेल फिर्ता

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल २१ दिनको बाह्य बसाइपछि आज पुनः तिहाड जेलमा फिर्ता गएका छन् ।

केजरीवालले आइतबार साँझ तिहाड जेल प्रशासनसमक्ष आत्मसमर्पण गरेका हुन् । यसअघि सर्वोच्च अदालतले लोकसभा चुनाव प्रचारका लागि भन्दै केजरीवाललाई २१ दिनको अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

केजरीवाललाई राजस्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा नीति घोटाला प्रकरणमा गत मार्च २१ मा गिरफ्तार गरेको थियो । मे १० मा सर्वोच्च अदालतले उनलाई जुन २ मा जेल फिर्ता जाने गरी २१ दिनका लागि अन्तरिम जमानतमा रिहा गरेको थियो ।

आफ्नो अन्तरिम जमानतको अवधि थप गर्न केजरीवालले अघिल्लो साता निवेदन दिए पनि सर्वोच्चले त्यसमा सुनुवाइ गर्न अस्वीकार गरेको थियो । त्यसपछि केजरीवाल नियमित जमानत माग्दै जिल्ला अदालत पुगेका थिए । तर जिल्ला अदालतले सुनुवाइका लागि जुन ५ को मिति तोकिदिएपछि केजरीवाल बाध्य भएर आज जेल फिर्ता गएका हुन् ।



Enter Kantipur TV HD
Advertisement