गाजाको रफाहमा हमला रोक्न दबाब, आईसीजेले आज फैसला सुनाउँदै

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाको रफाहमा हमला रोक्न दबाब, आईसीजेले आज फैसला सुनाउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय न्यायालय आईसीजेले इजरायललाई रफाहमा आक्रमण रोक्न आदेश दिन माग गर्दै दक्षिण अफ्रिकाले गरेको आग्रहमाथि आज आफ्नो फैसला सुनाउने भएको छ ।

गत हप्ता, दक्षिण अफ्रिकाले गाजा र विशेष गरी रफाहमा प्यालेस्टिनी जनताको अस्तित्व सुनिश्चित गर्न आवश्यक भएको भन्दै अन्तर्राष्ट्रिय न्यायालय समक्ष यस्तो आदेश दिन आग्रह गरेको थियो । इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिका यसै वर्षको जनवरीमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयसम्म पुगेको हो ।

तर, अन्तर्राष्ट्रिय न्यायालयका आदेशहरुलाई इजरायलले यसअघि पनि बेवास्ता गर्दै आएकाले यस पटकको आदेश पालना गर्नेमा पनि आशंका छ । संयुक्त राष्ट्र संघका शीर्ष कानुनी निकायसँग आफ्नो निर्णयहरू लागू गर्ने कुनै तरिका नभएकाले उसका निर्णयहरूलाई बेवास्ता गर्दै आइएको हो ।

यसैबीच, हिजो मध्य गाजामा रहेको जनकल्याण मन्त्रालयको एक स्टोरमा इजरायली सेनाले गोलाबारी गर्दा १२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।

गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक आक्रमण गरी १२ सय जतिको ज्यान लिनुका साथै २ सय ५० भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा प्रत्याक्रमण सुरु गरेको हो । इजरायलले गाजामा जारी राखेको आक्रमणमा अहिलेसम्म ३५ हजारभन्दा बढी प्यालेष्टिनी मारिइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.