अमेरिकी विदेशमन्त्री ब्लिंकेनसामु प्यालेस्टिनी समर्थकहरुको विरोध

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी विदेशमन्त्री ब्लिंकेनसामु प्यालेस्टिनी समर्थकहरुको विरोध

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सिनेट कमिटीसामु बयान दिइरहँदा प्यालेस्टिनी समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । इजरायल र हमासबीचको युद्धप्रति अमेरिकी नीतिको निन्दा गर्दै उनीहरुले ब्लिंकेनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको अुनरोधमा गत महिना युक्रेन र इजरायलका लागि अमेरिकाको दुवै सदनले सैन्य सहायता विधेयक पारित गरेको विषयमा सिनेटसामु बयान दिने क्रममा विदेशमन्त्री लक्षित प्रदर्शन भएको हो । विदेशमन्त्री ब्लिंकेनले प्रारम्भिक बयान दिइरहेका बेला प्यालेस्टिनी समर्थकहरुले अवरोध पुर्‍याएपछि सिनेटको विदेश सम्बन्ध र विनियोजन समितिका अध्यक्षहरुले ६ पटक सुनुवाइ रोकेका थिए ।

प्यालेस्टिनी समर्थकहरुले उभिएर ब्लिंकेनलाई प्यालेस्टिनी जनताविरुद्ध नरसंहार गरिरहेको भन्दै उनलाई पक्राउ गर्न समेत सिनेटमै भनेका थिए भने कतिपयले सांकेतिक प्रदर्शनसँगै हातमा रातो रंग लगाएर प्रदर्शन गरेका थिए । पछि उनीहरुलाई प्रहरीले सिनेट हाउस बाहिर लगेका थिए । प्रदर्शनका बीच विदेशमन्त्री ब्लिंकेनले बाइडेन प्रशासन इजरायलको दक्षिणी गाजा सहर रफाहमा नागरिकविरुद्ध भारी बमको सम्भावित प्रयोगको बारेमा चिन्तित रहेको र इजरायलसाग यस विषयमा निरन्तर सम्पर्क गरिरहेको समेत बताएका थिए ।

गाजामा जारी इजरायलको आक्रमणलाई लिएर अमेरिका, युरोप लगायत अन्य पश्चिमा राष्ट्रहरुमा व्यापक प्रदर्शन भइरहेको छ । तर, अमेरिकाले इजरायलले गाजामा नरसंहार भन्दा पनि सैन्य कारबाही मात्र गरिरहेको बताउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.