काठमाडौं । अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनमाथि प्रतिबन्ध लगाएको छ ।
वेस्ट ब्यांकमा प्यालेस्टिनीहरुविरुद्ध मानवअधिकार उल्लंघन गरेका कारण अमेरिकाले उक्त प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी समाचार समिति एक्सियोसले प्रतिबन्ध लगाउनेसम्बन्धी समाचार प्रकाशन गरेपछि इजरायल आक्रोशित भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाको उक्त कदम बेतुक रहेको भन्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
बाइडेन प्रशासनले उक्त बटालियनलाई कालो सूचीमा राख्नसक्नेसमेत बताइएको छ । यदि कालोसूचीमा राखिए उसले अमेरिकी सुरक्षा बलसँग कुनै पनि संयुक्त अभ्यास गर्न नपाउने बताइएको छ । यसका साथै अमेरिकाले गर्दै आएको सहयोग पनि रोकिन सक्ने बताइएको छ ।
इरान-इजरायल युद्धपछि अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिइरहेको छ । त्यसलाई बेवास्ता गर्दै इजरायली फोर्सले वेस्ट बैंक र रफाह क्षेत्रमा निरन्तर आफ्नो फोर्स विस्तार गर्दै आक्रामक शैली अपनाइरहेको छ । यस्तो समयमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।