काठमाडौं । मालदिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको पिपुल्स नेसनल कंग्रेस (पीएनसी)ले दुई तिहाइ सिटमा जित हासिल गरेको छ । पीएनसीले ६७ सिट जितेको छ ।
संसदको ९३ सिटका लागि हिजो मतदान भएको थियो । ९३ निर्वाचन सिटमध्ये मुइज्जुको नेतृत्वमा रहेको पीएनसीले ६७ सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
त्यस्तै पूर्वराष्ट्रपति मोहम्मद इब्राहिम सोलिहको दल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । कुल २ लाख ८४ हजार ६ सय ६३ मतदाता रहेकोमा ७२ दशमलव ९-६ प्रतिशत मत खसेको थियो ।
मालदिभ्समा चीनको प्रभाव बढाउने प्रयासमा रहेका राष्ट्रपति मुइज्जुका लागि यो निर्वाचन निकै महत्त्वपूर्ण मानिएको थियो । मालदिभ्सलाई आफ्नो प्रभावभित्र राख्न उत्सुक भारत र चीनले यो निर्वाचनलाई नजिकबाट नियालिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले टिप्पणी गरेका छन् ।