मानवअधिकारकर्मी आङ सान सुचीलाई जेलबाट निकालेर नजरबन्द !

वैशाख ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
मानवअधिकारकर्मी आङ सान सुचीलाई जेलबाट निकालेर नजरबन्द !

काठमाडौं । म्यानमारको जेलमा रहेकी मानवअधिकारकर्मी तथा नोबेल पुरस्कार विजेता आङ सान सुचीलाई देशको चर्को गर्मी र हिटवेभका कारण जेलबाट बाहिर निकालेर सैन्यशासित सरकारले नजरबन्दमा राखेको छ । तर, उनको हिरासतमा राखिएको स्थान भने खुलाइएको छैन ।

सेनाका प्रवक्ता मेजर जनरल जावले पूर्वनेतृ आङ सान सुचीलाई गर्मीका कारण स्वास्थ्यमा असर पर्ने देखिएपछि जेलबाट बाहिर ल्याएर नजरबन्दमा राखिएको बताएका छन् ।

७८ वर्षीया सुची र उनको अपदस्थ सरकारका ७२ वर्षीय पूर्वराष्ट्रपति विन मिन्टलाई अन्य वृद्ध कैदीहरूसँगै जेलबाट बाहिर ल्याइएको छ । यद्यपि म्यानमारमा भने यसको सार्वजनिक घोषणा गरिएको छैन ।

राजधानी नापितामा उनले विभिन्न किसिमका आपराधिक अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेकी छन् । उनका समर्थक र मानवअधिकार संगठनहरूले यी आरोपहरू राजनीतिक कारणले मनगढन्ते भएको बताउँदै आएका छन् ।

सन् २०२१ मा म्यानमारमा राष्ट्रव्यापी द्वन्द्व सुरु भएको थियो । त्यसपश्चात सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सुचीलाई जेल हालेको थियो । गत फेब्रुअरीमा सुचीका छोरा किम एरिसले आफूलाई एकान्त काराबासमा राखिएको बताएका थिए । उनी अहिले अस्वस्थ रहेको बताइएको छ ।

पिस रिसर्च इन्स्टिच्युटको रिपोर्टअनुसार म्यानमारमा सन् २०२१ मा भएको ‘कू’ पछि सेनाले अहिलेसम्म करिब ६ हजार मानिसको ज्यान लिएको छ । म्यानमारमा विपक्षीहरूलाई लगातार मृत्युदण्ड दिइरहेको छ ।



Enter Kantipur TV HD
Advertisement