काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल-थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने तयारी गरेको छ ।
वैशाख दोस्रो साता हुने कतारका अमिर अल–थानीको भ्रमणमा चितवनमा पालिएका दुई हात्ती उपहार दिन लागिएको हो । योसँगै हात्तीका सुसारे पनि कतार पठाउने तयारी सरकारको छ । दुई दिने भ्रमणका क्रममा सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्ब बराबरको सहयोगको सम्झौताको प्रस्ताव अघि सारेको छ ।
दुई चरणमा गरिने स्तरोन्नतिको काममा कतार सरकारले आर्थिक सहयोग गर्ने अपेक्षासहित प्रस्ताव अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी नयाँ श्रम सम्झौतासँगै कतारले फिफा विश्वकप फुटबलमा प्रयोग गरेका फुटबल स्टेडियमको प्यारापिट ल्याउनेबारे पनि छलफल अघि बढाइएको छ । स्टेडियमको प्यारापिट व्यवस्थापनको टुंगो नलागे पनि कतारका अमिर अल–थानीसमक्ष नेपालले आफ्नो प्रस्ताव राख्ने जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले भौतिक पूर्वाधार, स्वास्थ्य तथा खेलकुदलगायत क्षेत्रमा सहयोगको सम्झौता एवम् समझदारीका लागि सरोकारवाला मन्त्रालयहरुसँग छलफल अघि बढाएको छ ।
नेपालमा दक्ष कामदार तयार पार्न तालिम केन्द्रको स्थापनामा कतारको सहयोगसँगै पर्यटन क्षेत्रमा लगानी भित्र्याउनेबारे पनि कतारका अमिरको भ्रमणका क्रममा छलफल हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा आउन लाग्नुभएका कतारका अमिर यो पहिलो नेपाल भ्रमण हो ।