मानहानिसम्बन्धी ६ वर्षअघिको मुद्दामा राहुल गान्धीले पाए जमानत

दोषी ठहर भए २ वर्षसम्मको जेल सजाय हुने
फाल्गुन ८, २०८०
मानहानिसम्बन्धी ६ वर्षअघिको मुद्दामा राहुल गान्धीले पाए जमानत

नयाँदिल्ली । भारत उत्तर प्रदेशको सुल्तानपुरस्थित विशेष अदालतले विपक्षी कांग्रेसका नेता राहुल गान्धीलाई ६ वर्षअघिको मानहानिसम्बन्धी एक मुद्दामा जमानत दिएको छ ।

केन्द्रीय गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का तत्कालीन अध्यक्ष अमित शाहविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर राहुलमाथि मानहानिको मुद्दा चलिरहेको छ । राहुलले आज अदालतमा आत्मसमर्पण गरेको र जमानत याचिका स्वीकृत गर्नुअघिको करिब ४५ मिनेटका लागि अदालतले आफ्नो हिरासतमा लिएको उनका वकिल सन्तोष पाण्डेले जानकारी दिएका छन् ।

दोषी ठहर भएको अवस्थामा राहुललाई अधिकतम दुई वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । वर्ष २०१८ को मेमा बेंगलुरुमा आयोजित एक सभामा राहुलले आफूलाई इमानदार र स्वच्छ पार्टीका रुपमा दाबी गर्ने बिजेपीको अध्यक्ष स्वयं भने हत्या मुद्दाका अभियोगी भएको आरोप लगाएका थिए । राहुलको यही अभिव्यक्तिलाई लिएर बीजेपीका स्थानीय नेताले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । सन् २००५ मा भएको एउटा झुटा मुठभेड काण्डमा गुजरातका तत्कालीन गृहराज्यमन्त्री अमित शाहविरुद्ध पनि हत्या अभियोगमा मुद्दा चलेको थियो जसमा शाहले २०१४ तिर नै सफाइ पाइसकेका थिए ।

५३ वर्षीय राहुल गान्धीविरुद्ध मानहानीका कम्तिमा १० वटा मुद्दा विचाराधीन छन् । गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीको थरका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनलाई दुई वर्षको सजाय सुनाइएको थियो । उनको संसद सदस्यता पनि केही समयका लागि खोसिएको थियो । पछि उच्च अदालतले सजाय निलम्बन गरिदिएपछि उनको सांसद सदस्यता पुनर्बहाली भएको थियो ।

भारतमा केही महिनाभित्रै लोकसभा निर्वाचन हुँदै छ भने प्रधानमन्त्री मोदीलाई चुनौती दिने तयारी गरिरहेको विपक्षी गठबन्धनका राहुल एक प्रमुख अनुहार हुन् ।