रुस र उत्तर कोरियाबीच गहिरिँदै दुईपक्षीय सम्बन्ध

राष्ट्रपति पुटिनले दिए किम जोङ-उनलाई विलासी कार
फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
रुस र उत्तर कोरियाबीच गहिरिँदै दुईपक्षीय सम्बन्ध

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ-उनलाई रुसमा निर्मित विलासी ‘अउरुस कार’ उपहार दिएका छन् ।

उपहारस्वरुप प्रदान गरिएको उक्त कार आइतबार हस्तान्तरण गरिएको उत्तर कोरियाको सरकारी समाचारमाध्यमले जनाएको छ । किमकी बहिनी किम यो जोङले यो उपहार पुटिन र आफ्ना दाजुबीच रहेको विशेष वैयक्तिक सम्बन्धको स्पष्ट उदाहरण भएको बताएकी छन् । गत वर्षको सेप्टेम्बरमा किम आफ्नो निजी रेलमा सवार भएर रुस पुगेका बेला दुवै नेताबीच भेटवार्ता भएको थियो । त्यतिबेला पुटिनले किमलाई रुसमा निर्मित दुईवटा अउरुस कार- सेडान र लिमोजिन देखाएका थिए । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पोस्कोभले किमलाई उपहार दिइएको कार अउरुस भएको पुष्टि गरे पनि त्यसको मोडेल भने खुलाउन चाहेनन् ।

उत्तर कोरिया र रुसबीच विकसित नयाँ स्तरको रणनीतिक साझेदारीको दीर्घकालीन असर के कस्तो पर्ला भन्ने विषयमा अमेरिकी गुप्तचर अधिकारी चिन्तित बन्दै गएको बताइएको छ । पछिल्ला साता रुसले थुप्रैपटक युक्रेनी लक्ष्यहरुमा उत्तर कोरियाले दिएको छोटो दूरीको मार हान्ने बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ । यद्यपि युक्रेनविरुद्धको युद्धमा प्योङ्याङले मस्कोलाई हतियार आपूर्ति गरेको भन्ने कुरा औपचारिक रुपमा बाहिर आएको छैन ।

रुससँगको गहिरिँदो सम्बन्धलाई प्योङ्याङले आफूमाथिको चीनको प्रभावलाई खुकुलो पार्नमा प्रयोग गर्न सक्ने र परमाणु हतियार परीक्षणको दिशामा अघि बढ्न सजिलो हुन सक्ने आशंकासमेत अमेरिकी अधिकारीहरुले गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.