नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरको उद्घाटन यही जनवरी २२ मा हुँदै छ । उद्घाटनको तिथि नजिकिएसँगै भारतीय राजनीतिमा आसन्न चुनावसँगै ‘राम’ को चर्चा चुलिएको छ ।
मन्दिर निर्माणमा संलग्नहरूले मूर्तिको प्राणप्रतिष्ठा समारोह र चुनावको कुनै सम्बन्ध नरहेको बताइरहे पनि विपक्षीहरूले चुनावलाई ध्यानमा राख्दै बनिनसकेको मन्दिरको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी हतारिएको आरोप लगाएका छन् ।
१४ जनवरीमा सूर्य उत्तरायण ढल्केपछि मन्दिरमा रामको मूर्ति प्राणप्रतिष्ठा कार्यक्रम सुरु हुनेछ । १० दिनसम्म चल्ने उत्सवअन्तर्गत जनवरी २२ मा राममन्दिर विधिवत उद्घाटन हुँदै छ । भगवान् रामको जन्म अयोध्यामा भएको हिन्दु धर्मग्रन्थ रामायण उल्लेख भए पनि त्यहाँ राम मन्दिर भने थिएन ।
३१ वर्षअघि ६ डिसेम्बर १९९२ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकको ठूलो भीडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचना ध्वस्त पारे । ९ नोभेम्बर २०२० मा भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको विवादित जमिनलाई राम मन्दिरका लागि दिने फैसला सुनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको शिलान्यास गरे ।
‘मन्दिर बनिरहेको छ । पहिलो कुरा के छ भने पहिलो तल्लामा बालक भगवान् रामको मूर्ति राखिने ठाउँ बनिसकेको छ । भित्र अब सरसफाइको काम मात्रै बाँकी छ,’ विश्व हिन्दू परिषद्का प्रवक्ता विजयशंकर तिवारीले भने ।
चार महिनापछि अप्रिल-मेमा लोकसभा चुनाव हुँदै छ । चुनावी मैदानमा उत्रिनुपूर्व अस्थायी पालमा रहेको राम मन्दिरलाई स्थायी मन्दिरमा सार्ने तयारीमा भारत सरकार जुटेको छ । मन्दिर निर्माणको सबै काम पूरा नहुँदै प्रधानमन्त्री मोदीले रामको मूर्ति प्राणप्रतिष्ठा गर्दै छन् ।
‘यो मन्दिर नागरशैलीमा बनेको छ । यहाँ अगाडि सिंहद्वार, नृत्यमण्डप, रंगमण्डप, प्रार्थना र कीर्तनमण्डप छ । पछाडि गर्भगृह छ । पूर्वको प्रवेशद्वारदेखि पश्चिमसम्म ३ सय मिटर छ,’ मन्दिर निर्माण परियोजनाका प्रमुख इन्जिनियर गिरिश सहस्रभोजनीले भने ।
राममन्दिर बनिसक्न अझै एक वर्ष लाग्नेछ । मन्दिर परिसरले ओगट्ने ७० एकडमा अन्य भौतिक संरचना सन् २०२५ सम्म बनाइसक्ने लक्ष्य छ । ‘यहाँ बाग-बगैंचालगायत संरचना बनाउने काम सन् २०२५ सम्ममा सकिन्छ भन्ने विश्वास छ,’ राम मन्दिर निर्माण परियोजना प्रमुख जगदीश अफालेले भने, ‘त्यस वर्षको अक्टोबरसम्ममा सबै काम सकिन्छ ।’
रामको मूर्ति बनाउन भन्दै गत वर्ष नेपालबाट म्याग्दीस्थित कालीगण्डकी नदीबाट दुईवटा ठूला पत्थर अयोध्या ल्याइएको थियो । तर, मूर्ति निर्माणका लागि उक्त शिला प्रयोग भएनन् ।
मन्दिर निर्माणका परियोजना प्रमुख जगदीश अफालेले उडिसा र कर्नाटकबाट ल्याइएका तीन प्रकारका मार्बल र पत्थरहरूबाट मूर्तिको बनेको बताए । उनले नेपालबाट ल्याइएको पत्थरको पनि मन्दिर परिसरमा उचित प्रयोग हुने जानकारी दिए ।