मानवीय क्षति न्यून गर्न इजरायललाई अमेरिकाको आग्रह

इजरायल-हमास युद्धविरामसम्बन्धी प्रस्तावमाथि छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्दै
मंसिर २२, २०८०
मानवीय क्षति न्यून गर्न इजरायललाई अमेरिकाको आग्रह

वासिंटन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आज हुने भनिएको बैठकको पूर्वसन्ध्यामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनलगायत उच्च पदस्थ अधिकारीहरुले इजरायलका तर्फबाट गाजा क्षेत्रमा भइरहेको गोलाबारीको तिखो आलोचना गरेका छन् ।

आज हुने भनिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकको प्रमुख एजेन्डा- इजरायल र हमासबीच जारी युद्ध रोक्न अस्थायी युद्धविराम घोषणा गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गर्ने हुनेछ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले इजरायल हमास युद्ध रोक्न अपरिहार्य भएको आज एउटा पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् ।

त्यसैगरी अमेरिकी विदेशमन्त्री ब्लिकेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र जोर्डनका राजा अब्दुल्लाहसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा विदेशमन्त्री ब्लिकेनले गाजा क्षेत्रमा रहेका प्यालेस्टिनीहरुलाई जसरी भए पनि हमास लडाकुहरुबाट छुटाउनुपर्ने धारणा व्यक्त गरे ।

आजै अमेरिकी रक्षामन्त्री लायड अस्टिन र उनका इजरायली समकक्षी युभ ग्यालन्टबीच फोनवार्ता भएको थियो । उक्त वार्तामा अस्टिनले अमेरिकाको इजरायलप्रति जारी युद्धमा सधै साथ रहने बताएका थिए ।