विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल पर्याप्त नभएको भन्दै आलोचना

मंसिर १०, २०८० |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल पर्याप्त नभएको भन्दै आलोचना

काठमाडौं । इजरायल हमासबीच चार दिने अस्थायी युद्धविश्रामको आज तेस्रो दिन हो । दुई दिनको अवधिमा हमासले २६ इजरायली, १४ थाई र एक जना फिलिपिनो बन्धकलाई मुक्त गरिसकेको छ भने इजरायलले पनि त्यसको बदलामा ७८ प्यालेष्टिनीलाई रिहा गरिसकेको छ ।

तेल अबिबस्थित नेपाली दुतावासले विपिन पनि रिहा हुने आशा व्यक्त गरेपनि निश्चित रुपमा केही भन्न सकेको छैन । इजरायल हमासबीच भएको सहमतिका आधारमा हेर्ने हो भने बन्धक रिहाइमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको देखिन्छ ।

हमासले अहिलेसम्म रिहा गरेका १४ थाई र एक फिलिपिनो नागरिक भने इजरायल हमास सम्झौता अन्तर्गत नभई ती देशका सरकारले हमाससँग गरेको पृथक सहमतिअन्तर्गत रिहा भएका हुन् ।

आफ्ना नागरिक रिहाइका लागि थाइल्याण्ड सरकारले कतार, इजिप्ट, इरान र मलेसियासम्मको सहयोग लिएको थियो । नेपालले पनि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतार र इजिप्टमा रहेका नेपाली दूतावास र संयुक्त राष्ट्रसंघस्थित नेपाली कुटनीतिक संयन्त्रको समेत प्रयोग गर्नु पर्ने अन्तराष्ट्रिय मामिला विज्ञ पूर्ण सिलवाल सुझाउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि मात्रै काठमाडौं आएका कतारका विदेश राज्यमन्त्रीसँग हमासले रिहा गर्ने ५० जनाभित्रै विपिनलाई पार्न विशेष आग्रह गरेका थिए तर नेपालको कूटनीतिक पहल पर्याप्त नभएको भन्दै आलोचना भएको छ ।

विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पनि बहुपक्षीय कूटनीतिक च्यानललाई प्रयोग गर्नु आवश्यक देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.