बाकु । अजरबैजानको विवादास्पद स्वघोषित राज्य नागार्नो काराबाखको पृथकतावादी सरकारले आफूलाई विघटन गर्ने र यसै वर्षको अन्त्यदेखि उक्त राष्ट्र अस्तित्वमा नरहने घोषणा गरेको छ ।
स्वघोषित ‘रिपब्लिक अफ नागार्नो-काराबाख’ का पृथकतावादी नेता स्यामभेल शाहरामन्यानले आगामी जनवरी १ देखि लागु हुनेगरी राज्यका सबै संयन्त्र भंग गर्ने आदेशमा आफूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् । यससँगै नागार्नो-काराबाख क्षेत्रले स्वतन्त्रताका लागि जारी राखेको तीन दशकको संघर्ष पनि समाप्त भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले नागार्नो-काराबाख क्षेत्रलाई अजरबैजानकै भूभागको मान्यता दिँदै आए पनि उक्त क्षेत्रमा बसोबास गर्दै आएका आर्मिनियन-जनजातिले भने स्वतन्त्र राष्ट्रका रुपमा दाबी गर्दै आएका थिए । यद्यपि उनीहरुको यस दाबीलाई सीमावर्ती आर्मिनियाका साथै विश्वका कुनै पनि देशले मान्यता दिएका थिएनन् ।
१९९० को दशकमा सोभियत संघको पतन भएपछि आर्मिनियन जनजातिले उक्त क्षेत्र आफनो कब्जामा लिएका थिए भने सो क्षेत्रलाई लिएर पूर्वसोभियत राज्यहरु अजरबैजान र आर्मिनियाबीच दुईवटा युद्ध भइसकेका छन् ।
तीन दशकदेखि आर्मिनियन जनजातिको नियन्त्रणमा रहँदै आएको नागार्नो-काराबाख क्षेत्रमा गतसाता अजरबैजानी सेनाले भीषण कारबाही गरी चौबीस घण्टामै सो क्षेत्र आफ्नो कब्जामा लिएको थियो । पछि रुसी मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको सहमति भएको थियो ।
राज्य विघटन गर्ने निर्णयको घोषणा गर्दै पृथकतावादी नेताले जनताको भौतिक सुरक्षा र हितलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको बताएका छन् । युद्धविराम सहमतिमा अजरबैजानले त्यहाँका बासिन्दाको स्वतन्त्र, स्वेच्छिक र बिनारोकतोक आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
अजरबैजानको नियन्त्रणमा गएसँगै जातीय सफायाको सम्भावना रहेको भन्दै सो क्षेत्रका सबै एक लाख २० हजार बासिन्दा छिमेकी आर्मिनियामा पलायन हुने तयारीमा रहेको जनाइएको छ । त्यसमध्ये करिब तीस हजार मानिस शरणार्थीका रुपमा आर्मिनिया पलायन भइसकेको जनाइएको छ ।