काठमाडौं । इराकमा एउटा वैवाहिक पार्टीमा भएको आगलागीमा एक सय जनाको मृत्यु भएको छ । साथै एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकमा बेहुला र बेहुली पनि परेको जनाइएको छ । उत्तरी इराकको "निनेभेह" प्रान्तको अल-हमदानिया जिल्लामा स्थानीय समयअनुसार मंगलबार राति करिब पौने एघार बजेतिर उक्त घटना भएको जनाइएको छ ।
विवाहको उत्सवका क्रममा गरिएको आतिशबाजीका कारण उक्त आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । समारोह हलको संरचना निर्माणमा गुणस्तरहीन र ज्वलनशील सामग्री प्रयोग गरिएकाले पनि आगो चाँडै फैलिएको हुन सक्ने इराकी समाचार एजेन्सी निनाले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीकाअनुसार घटना हुँदा उक्त समारोहमा करिब एक हजार मानिस सहभागी थिए ।
इराकी प्रधानमन्त्री मोहम्मद सिया अल सुडानीले घटनाप्रति दु:ख व्यक्त गर्दै आगलागीबाट प्रभावितको उद्धार र राहतका लागि आवश्यक सबै प्रयास गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
घटनास्थल राजधानी बगदादबाट करिब ३ सय ३५ किलोमिटर उत्तरपश्चिममा रहेको जनाइएको छ ।