बाकु । अजरबैजानको विवादास्पद नागार्नो-काराबाख क्षेत्रमा एउटा इन्धन भण्डारण केन्द्रमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । आगलागीमा घाइते भएका ३ सयजनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
करिब तीन सय घाइतेलाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये केहीको अवस्था सिकिस्त रहेको जनाइएको छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।
स्वघोषित पृथक क्षेत्र नागार्नो-काराबाखलाई गत साता अजरबैजानी सेनाले नियन्त्रणमा लिएयता जातीय सफायाको त्रास देखाउँदै हजारौं मानिस छिमेकी आर्मिनियामा पलायन भएका छन् । सोभियत संघको पतन भएयता नागार्नो काराबाख क्षेत्रले आफूलाई स्वतन्त्र क्षेत्र घोषणा गर्दै अजरबैजानको नियन्त्रणमा रहन अस्वीकार गर्दै आएको थियो । तर गत साता अजरबैजानी सेनाले भीषण कारबाही गरेर उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो भने रुसी मध्यस्थतामा युद्धविराम सहमति भएको थियो ।
नागार्नो-काराबाख क्षेत्रमा करिब एक लाख २० हजार आर्मिनियालीको बसोबास रहेकामा सामूहिक बहिर्गमनको पहिलो दिन नै १३ हजार ३५० शरणार्थी आर्मिनिया आइपुगेको त्यहाँको सरकारले जनाएको छ ।
आर्मिनियाका प्रधानमन्त्री निकोल पासिन्यानले सो क्षेत्रमा जातीय सफाया जारी रहेको आरोप लगाएका छन् । यसैबीच अमेरिकाले नागरिकका अधिकारको संरक्षण गर्न र मानवीय सहायता तथा अनुगमन मिसनलाई सहज पहुँच दिन अजरबैजानलाई आह्वान गरेको छ । नागार्नो काराबाख क्षेत्रका सबै एक लाख २० हजारले नै सो क्षेत्र छाड्ने पृथकतावादी नेताले केही दिनअघि बताएका थिए ।