चन्द्रयान-३ को ल्यान्डरसँग सम्पर्क विच्छेद, ब्युँतिने आशमा वैज्ञानिक

आश्विन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
चन्द्रयान-३ को ल्यान्डरसँग सम्पर्क विच्छेद, ब्युँतिने आशमा वैज्ञानिक

काठमाडौं । भारतीय अन्तरिक्ष वैज्ञानिकले चन्द्रयान-३ को विक्रम ल्यान्डरसँग सम्पर्क विच्छेद भएको बताएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले ल्यान्डर र रोभरसँग सम्पर्क विच्छेद भएको जनाएको हो ।

इसरो प्रमुख एएस किरण कुमारले ल्यान्डर र रोभरसँग सम्पर्क विच्छेद भएको जानकारी दिएका हुन् । इसरोले ब्याट्री रिचार्ज हुने आशा राख्दै पुन:सञ्चालनमा आउने आशा राखिएको बताएको छ ।

समय बित्दै जाँदा चन्द्रमाको चिसो रातपछि विक्रम ल्यान्डर र प्रज्ञान रोभर पुन: सञ्चालनमा आउने आशा झिनो रहेको वैज्ञानिकहरुले बताएका छन् ।

उनीहरुले चन्द्रमाको दिनको अन्त्यसम्म प्रयास जारी राख्ने बताएका छन् । चन्द्रमाको दिन र रात पृथ्वीको चौध दिन बराबर हुन्छ । इसरोले समाजिक सञ्जाल एक्समार्फत विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चारसम्पर्कको प्रयास जारी रहने जनाएको छ । सोमबार इसरोले यसबारे जानकारी दिएको हो । त्यसपछिको अवस्थाबारे थप कुनै जानकारी दिएको छैन ।

गत अगस्टमा चन्द्रमाको कम खोजी गरिएको दक्षिणी ध्रुवमा प्रज्ञान रोभर बोकेको विक्रम ल्यान्डर अवतरण भएको थियो । विक्रम ल्यान्डरले दुई हप्तामा तथ्यांक र तस्बिरहरु संकलन गरेको थियो । त्यसपछि चन्द्रमामा रात पर्ने भएपछि तिनीहरुलाई निष्क्रिय अवस्था (स्लीप मोड) मा राखिएको इसरोले जनाएको छ । अमेरिका, रुस र चीन पछि भारतले चन्द्रमामा अन्तरिक्षयान पठाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.