अजरबैजानको ‘नागोर्नो-काराबाख’ का एक लाख २० हजार बासिन्दा बसाइँ सर्दै

आश्विन ७, २०८०
अजरबैजानको ‘नागोर्नो-काराबाख’ का एक लाख २० हजार बासिन्दा बसाइँ सर्दै

बाकु । अजरबैजानको विवादास्पद ‘नागोर्नो-काराबाख’ क्षेत्रका एक लाख २० हजार आर्मिर्नियाली जनजाति आफ्नो बासस्थान छाडेर छिमेकी अर्मिर्नियामा बसाइँ सर्ने भएका छन् ।

अजरबैजानको भूमि स्वीकार्दै बसेको अवस्थामा जातीय सफायामा परिने डरले उनीहरुले यस्तो निर्णय लिएको पृथकतावादी नेताले रोयटर्सलाई जनाएका छन् । आर्मिर्नियाका प्रधानमन्त्रीले पनि जनजातीय आर्मिर्नियलीहरुले सो क्षेत्र छाड्ने सम्भावना रहेको र त्यसो भए आफ्नो देशले उनीहरुलाई स्वीकार्ने बताएका छन् ।

गत साता अजरबैजानी सेनासँगको युद्धमा आर्मिर्नियाली जनजातिहरु पराजित भएका थिए । अजरबैजानको सेनाले चलाएको चौबीसघण्टे कारबाहीपछि रुसको मध्यस्थतामा यही सेप्टेम्बर २० मा उनीहरु युद्धविरामको घोषणा गर्न बाध्य भएका थिए । अन्तर्राष्ट्रिय समुदायले काराबाख क्षेत्रलाई अजरबैजानकै भूभागको मान्यता दिए पनि यसअघि उनीहरुले आफूलाई स्वघोषित ‘रिपब्लिक अफ आर्तसाख’ का रुपमा स्वतन्त्र राज्य मान्दै आएका थिए ।

यता अजरबैजानले भने विवादास्पद सो क्षेत्रलाई आफूमा पुनर्एकीकरण गर्ने र उनीहरुको अधिकारको प्रत्याभूति गर्ने बताएको छ । यद्यपि जनजातिहरुले भने यसलाई विश्वास गर्न नसकिने बताएका छन् ।

अजरबैजान मूलत: मुस्लिमको बसोबास भएको देश हो भने आर्मिर्नियालीहरु क्रिस्चियन हुन् । तत्कालीन सोभियत संघको समयमा नागोर्नो-काराबाख क्षेत्र अजरबैजानको स्वायत्त क्षेत्रका रुपमा थियो । सोभियत संघको पतनपछि जातीय आर्मिर्नियालीहरुले आर्मिर्नियामा गाभिने उद्देश्यले आफूलाई स्वतन्त्र राज्य घोषणा गरेयता अजरबैजान र अर्मिनियाबीच दुईपटक युद्ध भइसकेको छ ।