फिलिपिन्सको आरोप- चीनले पानीमा तैरिने बार लगायो

आश्विन ७, २०८०
फिलिपिन्सको आरोप- चीनले पानीमा तैरिने बार लगायो

मनिला । फिलिपिन्सले साउथ चाइना समुद्रको विवादास्पद जल क्षेत्रमा चीनले पानीमा तैरिने बार लगाएको आरोप लगाउँदै भर्त्सना गरेको छ ।

यो बारले आफ्ना माझीहरुलाई उक्त क्षेत्रमा माछा मार्न अवरोध सिर्जना गरेको फिलिपिन्सले जनाएको छ। फिलिपिन्सका सीमा रक्षकबलले जारी गरेको भिडियोमा साउथ चाइना समुद्रमाथि तैरिरहेको छेकाबारनजिकै थुप्रै चिनियाँ सीमारक्षक बलका डुंगा तैनाथ रहेको देखिएको छ । फिलिपिन्सको सीमा रक्षक बल र मत्स्य तथा जल संशाधन ब्युरोले ‘स्कारबोरो शोल’ भनिने क्षेत्रको भूभागमा अवरोधक लगाएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित चिनियाँ दूतावाससँग यस विषयमा सम्पर्क गर्दा तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ ।

चीनले साउथ चाइना समुद्रको ९० प्रतिशत जल क्षेत्रमा आफनो स्वामित्वको दाबी गर्दै आएको छ । उसले दाबी गरेको क्षेत्रभित्र भियतनाम, मलेसिया, ब्रुनाई, इन्डोनेसिया र फिलिपिन्सको विशेष आर्थिक क्षेत्र घोषित जलक्षेत्र पनि पर्छ ।

यसले गर्दा यी देश र चीनबीच विवाद रहँदै आएको छ । स्कारबोरो शोल भनिने उक्त औंठी आकारको सानो टापु चीनले २०१२ मा आफ्नो नियन्त्रणमा लिएको थियो भने फिलिपिनो माझीहरुलाई सो क्षेत्रमा माछा मार्नमा रोक लगाउँदै आएको छ ।