सुडानको राजधानी खार्तुममा हवाई आक्रमण : ३५ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

भाद्र २५, २०८० |कान्तिपुर टीभी संवाददाता
सुडानको राजधानी खार्तुममा हवाई आक्रमण : ३५ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुमस्थित खुला तथा व्यस्त बजारमा भएको हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् ।

सेनाका लडाकु विमानले दक्षिणी खार्तुमस्थित क्वोरो मार्केटमा बम वर्षा गरेको स्थानीय बासिन्दाले जनाएका छन् । सुडानमा सेना र अर्ध सैनिक बल- र्‍यापिड सर्पोट फोर्स ‘आरएसएफ’ बीच गत अप्रिलदेखि भिडन्त हुँदै आएको छ । सुडानमा कार्यरत स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय परोपकारी संस्था डक्टर्स विद्आउट बोर्डर्सले विस्फोटमा परी अङ्गभङ्ग भएका र अन्य घाइतेको ज्यान जोगाउने प्रयास जारी रहेको जनाएको छ । केही अन्तर्राष्ट्रिय समाचार संस्थाले मृत्यु हुनेको संख्या ५० को नजिक पुगेको बताएका छन् ।

सेना प्रमुख अब्देल फताह अल बुहरान र अर्धसैनिक बल आरएसएफका कमाण्डर जनरल मोहम्मद डगालोबीच मतभेद बढेपछि गत अप्रिलदेखि सुडान गृहयुद्धमा फसेको हो। दुवै सुरक्षा बलबीचको युद्धका कारण चार हजारभन्दा बढी मानिसले ज्यान गुमाइसेका छन् । करिब ५० लाख मानिस विस्थापित भएका छन् । जारी युद्धका कारण खाद्यान्न तथा अत्यावश्यक औषधिको चरम अभाव सिर्जना भएको छ । सुडानमा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघले जनाएको छ ।

द्वन्द्वबाट राजधानी खार्तुम र डार्फरको पश्चिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । राजधानी खार्तुमको अधिकांश भूभाग र निकटवर्ती दुई सहर आरएसएफको नियन्त्रण रहेको छ भने ती क्षेत्र पुन: आफ्नो कब्जामा ल्याउन सेनाले हवाई आक्रमण गर्ने गरेको छ।

अमेरिका, साउदी अरब र अन्य केही देशले युद्ध अन्त्यका लागि दुवै पक्षबीच मध्यस्थताको प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement