प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच न्युयोर्कमा भेटवार्ता

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले भेटमा नेपालले टुंग्याउँदै गरेको संक्रमणकालीन न्यायदेखि जलवायु परिवर्तनमा न्यायसम्मका कुरा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क पुग्नु भएका प्रधानमन्त्रीओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि स्थानीय समयअनुसार आज साँझ ५ बजे ‘साइडलाइन’ भेटवार्ता गर्दै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग न्यूयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताका लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँदिल्लीका तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन । तर ओली न्युयोर्कमा उत्रनु केही अघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताका लागि तयार रहेको सन्देश दिएको हो । 

ओली चौथो पटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुँदै छ । मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले आवश्यक गृहकार्य पनि गरेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । 

यसैगरी असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement