ऋणको सीमासम्बन्धी विधेयक अमेरिकी संसदमा प्रस्तुत हुँदै

जेष्ठ १७, २०८०
ऋणको सीमासम्बन्धी विधेयक अमेरिकी संसदमा प्रस्तुत हुँदै

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडन र सभामुख केभिन मक्कार्थीबीच भएको सहमतिबमोजिम आज ऋण सीमासम्बन्धी विधेयक अमेरिकी संसदमा प्रस्तुत हुँदैछ ।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट पारित भएपछि विधेयकलाई सिनेटमा पठाइनेछ भने राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेपछि कानुनी रुप लिनेछ । सिनेटमा डेमोक्रेटिक नेता चक सुमरले आगामी शुक्रबार या सप्ताहान्तमा मतदानका लागि तयार रहन सांसदहरुलाई आग्रह गरेका छन् ।

यसअघि संसदको विधायन समितिमा भएको मतदानमा विधेयकको पक्षमा सात र विपक्षमा ६ मत परेको थियो । अर्थ मन्त्रालयले आगामी ५ जुन अघि नै ऋण सीमासम्बन्धी विधेयक पारित गरिसक्नुपर्ने समयसीमा दिएको छ । त्यसअगावै बिल भुक्तानीको लागि सार्वजनिक रकम निकासा गर्ने दायित्व पूरा गर्न विधायकहरुले कसरत गरिरहेका छन् ।

विधेयकले एक दशकभित्र बजेट घाटामा डेढ खर्ब डलर घटाउन सक्ने आकलन गरिएको छ । रिपब्लिकनले चाहेजतिको सार्वजनिक खर्चमा अंकुश लगाउन नसकेको उल्लेख गर्दै राष्ट्रिय ऋणको वृद्धि नियन्त्रण गर्न आवश्यक रहेको तर्क दिँदै आएका छन् । यो ऋण करिब ३१ खर्ब डलर पुगेको छ ।