सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन, भिडन्त जारी

जेष्ठ १७, २०८०
सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन, भिडन्त जारी

खार्तुम । सुडानमा द्वन्द्वरत दुई सुरक्षा बलबीच युद्धविरामको अवधि थप पाँच दिन लम्ब्याउने सहमति भए पनि राजधानी खार्तुम र आसपासका क्षेत्रमा भिडन्त जारी छ ।

पछिल्लो सातदिने युद्धविराम स्थानीय समयअनुसार सोमबार राति सकिँदै थियो । उक्त समयसीमा सकिनुअघि नै द्वन्द्वरत सेना र अर्ध सैनिक बल (आरसएफ) बीच नागरिकसम्म सहायता सामग्री सहज रुपमा पुग्न दिने उद्देश्यले युद्धविरामको समय लम्ब्याउने सहमति भएको हो । तर सहमतिको केही घण्टाअघि देखि नै राजधानी खार्तुम र यससँग जोडिएका दुई सहरमा भीषण भिडन्त सुरु भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

यही अप्रिल १५ देखि सुरु भएको सेना र आरएसएफबीचको द्वन्द्वका कारण करिब १८ सय मानिसले ज्यान गुमाएका छन् । साढे तीन लाखभन्दा बढी नागरिक छिमेकी देशमा शरणार्थीका रुपमा पलायन भएका छन् भने स्वदेशभित्रै करिब १० लाख मानिस विस्थापित छन् ।