राष्ट्रपति चुनाव लड्ने फ्लोरिडाका गर्भनर डिस्यान्टिसको घोषणा, ट्रम्पलाई चुनौती

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति चुनाव लड्ने फ्लोरिडाका गर्भनर डिस्यान्टिसको घोषणा, ट्रम्पलाई चुनौती

न्यूयोर्क । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनको माहौल तात्दै गएको छ । यसै क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिँदै फ्लोरिडा राज्यका गर्भनर तथा रिपब्लिकन नेता रोन डिस्यान्टिसले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

ट्वीटरका सीईओ इलोन मस्कसँग जोडिएर ट्वीटर स्पेशेजमा लाइभ कुराकानी गर्दै उम्मेदवारी घोषणा गर्ने उनको योजनामा भने प्राविधिक गडबडीले गर्दा केही समय असहजता उत्पन्न गरेको थियो । उम्मेदवारी घोषणाको प्रारम्भ गडबडीले भरिपूर्ण भएपनि राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको मनोनयन जित्ने दिशामा ४४ वर्षीय डि स्यान्टिस ७६ वर्षीय ट्रम्पको मार्गमा मुख्य अवरोधका रुपमा खडा भएका छन् ।

रिपब्लिकन पार्टीको टिकट जित्न ट्रम्पका अतिरिक्त संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत निकी हेली, आर्कन्सा राज्यका पूर्व गर्भनर एशा हचिन्सन र उद्योगपति विवेक रामास्वामीले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तर ट्रम्पका लागि डि स्यान्टिस नै मुख्य चुनौती सिद्ध हुने अमेरिकी समाचारमाध्यमको विश्लेषण छ । डि स्यान्टिस ट्रम्प जस्तो प्रवृत्ति नभएका तर ट्रम्प शैलीकै कट्टरपन्थी नेता भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमको टिप्पणी छ ।

सन् २०१९ को जनवरीमा गर्भनरको पद सम्हालेका डि स्यान्टिसले अहिलेसम्मको कार्यकालमा कन्जरभेटिभ्सहरुको प्राथमिकतामा पर्ने थुप्रै कामहरु गरेकाले उनी समर्थकहरुको रोजाइमा पर्न सक्ने बताइएको छ । आफ्नो कार्यकालमा डिस्यान्टिसले सहज रुपमा बन्दुक राख्न पाउने गरी कानुनमा सुधार गरेको, विद्यायलमा यौन र लैंगिकता पहिचान सम्बन्धी विषय अध्यापनमा प्रतिबन्ध लगाएको, गर्भपतनलाई सीमित गर्ने गरी कानुनमा सुधार गरेको र मतदानका नियममा कडाई गरेको बताइएको छ ।

रिपब्लिकन पार्टीको मनोनयन कसले जित्छ भन्ने कुरा आगामी फेब्रुअरीदेखि हुने प्रारम्भिक चुनाव (प्राइमरी इलेक्सन) ले तय गर्नेछ । पार्टीको टिकट जित्न सफल उम्मेदवारले नै वर्तमान राष्ट्रपति जो बाइडनसँग राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.