मानहानिको मुद्दामा २ वर्षको जेल सजाय सुनाइएका राहुल आमनिर्वाचन २०२९ मा पनि उम्मेदवार बन्न नपाउने

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
मानहानिको मुद्दामा २ वर्षको जेल सजाय सुनाइएका राहुल आमनिर्वाचन २०२९ मा पनि उम्मेदवार बन्न नपाउने

नयाँदिल्ली । भारतमा आगामी वर्ष अर्थात् २०२४ को अप्रिल-मेमा संघीय संसद्का लागि आम निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि एक वर्ष बाँकी भए पनि चुनावी सरगर्मी भने सुरु भैसकेको छ । विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानीको एउटा मुद्दामा दुई वर्षको जेल सजायको घोषणा र जनप्रतिनिधि कानुनअन्तर्गत उनको लोकसभा सदस्यता खारेजीसँगै अनौपचारिक रुपमै चुनावी सरगर्मी सुरु भएको हो ।

सन् २०१९ को लोकसभा चुनावअघि बेंगलुरुको एक र्यालीका क्रममा ११ अप्रिलका दिन राहुल गान्धीले भनेका थिए, 'सबै चोरको थर मोदी किन हुन्छ ? चाहे त्यो ललित मोदी, निरव मोदी या नरेन्द्र मोदी ।' राहुलको यो अभिव्यक्तिविरुद्ध परेको आपराधिक मानहानी मुद्दामा गुजरातको सुरत अदालतले उनलाई गत बिहीबार दुई वर्षको जेल सजाय सुनायो ।

अदालतले सजाय सुनाएको भोलिपल्टै जनप्रतिनिधित्व अधिनियमको व्यवस्थालाई प्रयोग गर्दै लोकसभा सचिवालयले उनको सांसद पद खारेज गर्नुका साथै ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी अयोग्य घोषणा गर्यो ।

माथिल्लो अदालतले उनको सजाय नउल्टाएको अथवा दुई वर्षभन्दा कममा नघटाएको अवस्थामा २०२४ को आम निर्वाचन मात्र नभई २०२९ मा हुने आम निर्वाचनमासमेत राहुल उम्मेदवार बन्न पाउने छैनन् ।

कंग्रेस नेताहरुले प्रधानमन्त्री मोदीले अदालतलाई प्रभावमा पारी राहुललाई तह लगाउन खोजेको आरोप लगाएका छन् । त्यसो त मोदीमाथि केन्द्रीय अनुसन्धान ब्यूरो र विशेष वित्तीय जाँच एजेन्सी-ईडीजस्ता सरकारी संयन्त्र प्रयोग गरी विपक्षीलाई तह लगाउने गरेको आरोप लाग्ने गरेको छ ।

सांसद पद खोसिएपछि राहुलले पनि विवादास्पद अर्बपति गौतम अडानी र मोदीबीचको सम्बन्धबारे कठोर प्रश्न गरिरहेकाले आफ्नो मुख बन्द गराउने षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।

राहुलको प्रतिकारमा शनिबार नै जवाफी पत्रकार सम्मेलन गर्दै बीजेपी नेता रवि शंकर प्रसादले आफ्ना बाजे, आमा र बुवा प्रधानमन्त्री भएकाले राहुललाई प्रधानमन्त्री पदमा स्वतः आफ्नो हक छ भन्ने लागेको तर जनताले नपत्याएकाले उनमा कुण्ठा रहेको आरोप लगाए ।

रविशंकर प्रसादले भनेजस्तै जनताले नपत्याएको झोंकका राहुलले मनपरी बोल्दै हिंडेका हुन् वा सत्ता र शक्तिको दुरुपयोग गर्दै मोदी सरकारले उनलाई तह लगाउँदै छ, यसै भन्न सकिने अवस्था छैन । तर एउटा कुरा भने स्पष्ट छ- भारत मात्र होइन, जुनसुकै देशका नेताले पनि आफ्नो वचनमा संयमता राख्नु आवश्यक छ ।

लोकतन्त्रमा आलोचना गर्न छुट हुन्छ तर गाली गर्न भने होइन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.