हिंसा भड्किएपछि बेलायती राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

चैत्र ११, २०७९
हिंसा भड्किएपछि बेलायती राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोको अनुरोधमा बेलायतका राजा चार्ल्स तृतीयको भोलि (आइतबार) देखि हुने भनिएको फ्रान्सको राजकीय भ्रमण स्थगित भएको छ ।

फ्रान्समा अवकाशको उमेर दुई वर्षले बढाउने विवादास्पद पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको अवस्थामा आइतबारदेखि सुरु हुन लागेको तीनदिने भ्रमण स्थगित गरिएको हो । राजा चार्ल्स र उनकी पत्नी कमिल्लाको पेरिस र बोर्दोको भ्रमण आइतबारका लागि तय गरिएको थियो ।

यो निर्णयले फ्रान्स र राष्ट्रपति म्यांक्रोलाई लज्जास्पद बनाएको विश्लेषण गरिएको छ । यो भ्रमणले बेलायतको राजसंस्थालाई फ्रान्सेली जनतासँग चिनारी दिने अवसर र दुई देशबीच सम्बन्ध अझै बलियो पार्ने मौका थियो । राजा चार्ल्स र उनका पत्नी कमिल्ला फ्रान्सको भ्रमण पूरा गरी बुधबार जर्मनीतर्फ जाने तालिका थियो । अब राजा चार्ल्सले आफ्नो पहिलो राजकीय भ्रमण जर्मनीको बर्लिनबाट सुरु गर्नेछन् ।

यसैबीच, देशव्यापी हड्ताल र विरोध प्रदर्शनको नवौं दिन रेल र हवाई यात्रा प्रभावित भएको र शिक्षकसहितका पेसाकर्मीले काम बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फ्रान्सभर १० लाखभन्दा बढी मानिस सडकमा ओर्लिएको आन्तरिक व्यवस्था मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मजदुर संगठनहरुले मार्च २८ मा पनि अर्को देशव्यापी हडतालको आहृवान गरेका छन् । सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्याउने विवादास्पद विधेयक गत साता संसद्‌को तल्लो सदनमा मतदान नै नगराई पारित गराएको थियो । त्यसको विरोधमा आन्दोलनकारी थप आक्रोशित भएका हुन् ।

तनाव चर्किंदै गए पनि राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने यसै वर्षको अन्त्यबाट उक्त विधेयक कार्यान्वयनमा आउने धारणा सार्वजनिक गरेका छन् ।