संसद्‌मा मतदान नगराएरै फ्रान्समा पेन्सन सुधार योजना, चर्कियो विरोध प्रदर्शन

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा मतदान नगराएरै फ्रान्समा पेन्सन सुधार योजना, चर्कियो विरोध प्रदर्शन

पेरिस । फ्रान्स सरकारले संसद्‌मा मतदान नै नगराई विवादास्पद पेन्सन सुधार योजना पारित भएको घोषणा गरेपछि विरोध प्रदर्शन चर्केको छ ।

यो नयाँ योजनाले अवकाशको उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्याउनेछ । यस्तो गर्दा सरकारी कोषमा थप रकम जम्मा हुने र बजेट घाटामा जान लागेको सरकारलाई राहत हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको सोच रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रस्तावित पेन्सन सुधार योजनाको विरोधमा फ्रान्समा दुई महिनादेखि प्रदर्शन हुँदै आएका छन् । पेन्सन सुधारसम्बन्धी विधेयक संसदको तल्लो सदन नेसनल एसेम्बलीबाट पास नहुने ठानेर प्रधानमन्त्री एलिजाबेथ बोर्नले बिनामतदान पारित गराएकी हुन् ।

तर सांसदले विधेयकमाथि मतदान गर्न केही मिनेटअघि मात्रै यस्तो निर्णय लिइएको थियो । प्रधानमन्त्रीको सो कदमविरुद्ध विपक्षी सांसदले सदनभित्रै आपत्ति जनाएका थिए । सरकारले संवैधानिक प्रावधानलाई प्रयोग गर्दै विधेयक पारित गराए पनि राष्ट्रपति म्याक्रोँ र सरकार संसदमा आवश्यक बहुमत जुटाउन असफल भएको पुष्टि गरेको छ ।

यसैबीच चरम दक्षिणपन्थी विपक्षी दल ‘नेसनल र्‍याली’ले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने जनाएको छ । विगतका राष्ट्रपतीय दुई निर्वाचनमा म्याक्रोंविरुद्ध उम्मेदवारी दिएकी नेतृ मारिन ली पेनले राष्ट्रपति र प्रधानमन्त्री पूर्ण असफल भएको जनाएकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.