निर्वाचनमा नयाँ अनुहार : इन्जिनियरदेखि कमेडियनसम्म

मंसिर १, २०७९ |संगम ढकाल
निर्वाचनमा नयाँ अनुहार : इन्जिनियरदेखि कमेडियनसम्म

काठमाडौं । मुलुक निर्वाचनमय बनेको छ । उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् । यो निर्वाचनमा युवा तथा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि लोभलाग्दै छ । राजनीतिमा विकर्षण भएका युवा जमातले पनि यस निर्वाचनलाई नजिकबाट हेरेको अवस्था छ । विशेषगरी स्वतन्त्र उम्मेदवारहरू वृद्ध नेतालाई पराजित गर्न कसिएका छन् ।

निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा ६८ वर्ष कटेका ११७ जना वृद्ध उम्मेदवार सहभागी छन् । वृद्ध उम्मेदवाको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता छन् । टीकादत्त पोख्रेल निर्वाचनमा सहभागीमध्ये सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । नेपाली कांग्रेस (बीपी) का उम्मेदवार पोख्रेल सोमबार मात्र १०० वर्ष पुगेका छन् ।

यस निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सातौंपटक चुनावी मैदानमा छन् । त्यस्तै कांग्रेस नेताहरू विजयकुमार गच्छदार, रामचन्द्र पौडेल, अर्जुनरसिंह केसी, रामशरण महतलगायत नेता धेरैपटक चुनाव लड्ने नेतामा गन्निछन् ।

यो पनि : ७२ ‘वरिष्ठ ज्येष्ठ नागरिक’ चुनावी मैदानमा, ३३ स्वतन्त्र वृद्ध

योपटकको चुनावी मैदानमा पहिलोपटक केही चर्चित मुहार देखिएका छन् । उनीहरू सामाजिक सन्जाल, चिया पसल र युवापुस्ता माझ बहसको विषय बन्ने गरेका छन् । ती हुन् :

रवि लामिछाने

रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का सभापति हुन् । आगामी निर्वाचनका लागि उनले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनी टेलिभिजन प्रस्तोता हुँदै राजनीतिज्ञका रूपमा स्थापित भएका छन् । उनी विभिन्न फन्डाले विवादमा आइरहन्छन् । अहिले उनको नागरिकताको विवाद चर्चामा छ । रविले विदेशी मुलुकको नागरिकता लिएर नेपाली नागरिकता नत्यागेकाले उम्मेदवारी खारेज हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

रविको ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रम दर्शकमाझ लोकप्रिय थियो । उनी यही कार्यक्रबाट उदाएका हुन् । २०७६ साउनमा उनी आफ्नै पूर्वसहकर्मीको हत्याको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनलाई गलत आरोप लागेको भन्दै चितवनमा जनसागर उर्लिएको थियो । यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले उनलाई पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

यही निर्वाचनमा सहभागी हुन ‘ग्यालेक्स फोर के’ टेलिभिजनको प्रबन्धक निर्देशकबाट राजीनामा दिएर लामिछनेले आफ्नै नेतृत्वमा नयाँ दल खोलेका हुन् । सभापति लामिछाने एमालेका कृष्णभक्त पोख्रेल र गठबन्धनका तर्फबाट कांग्रेसका उमेश श्रेष्ठलगायत अन्य उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

रमेश खरेल

रमेश खरेल नेपाल प्रहरीका पूर्वडीआईजी तथा राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान हुन् । सेवामा रहँदा उनले गुन्डागर्दी नियन्त्रणमा गर्न ठूलो भूमिका निर्वाह गरेका थिए । सोही कारण उनी ‘सिंघम पुलिस’का रूपमा परिचित थिए ।

नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । स्थानीय तह निर्वाचनमा अध्यक्ष खरेलले काठमाडौं महानगरपलिकाको मेयरमा उम्मेदवारी दिने चर्चा थियो । भ्रष्टाचारीलाई तह लगाउन यस निर्वाचनमा आफूले उम्मेदवारी दिएको अध्यक्ष खरेल बताउँछन् । उनले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, स्वतन्त्र पार्टीका पुकार बमलगायतको चुनौती सामना गर्नुपर्नेछ ।

डा. तोसिमा कार्की

डा. तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी छन् । यस निर्वाचनमा उनको चर्चा राम्रो छ ।

उनी लाभको पदमा रहको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । यसकारण उनी उनको चर्चा अझ बढी भयो । तर सर्वोच्च अदालतले उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि उनी चुनावी प्रचारमा व्यस्त छन् । २०७४ मा यस क्षेत्रबाट माओवादी केन्द्रकी नेतृ फम्फा भुसाल निर्वाचित भएकी थिइन् ।

सागर ढकाल

गृहजिल्ला गुल्मी भएका सागर ढकालले एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उम्मेदवारी दिएका छन् । पेसाले इन्जिनियर ढकाल स्वतन्त्र उम्मेदवार हुन् ।

उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न डडेलधुरा पुगेका हुन् ।

हजुरबा पुस्ता नेताहरूलाई ससम्मान विश्राम गराउनुपर्छ भन्ने उनको अभिव्यक्ति चर्चामा छ ।

उम्मेदवार ढकाल चुनावी प्रचारमा व्यस्त छन् । डडेलधुराका समस्या समाधान आफ्नो अध्ययनले साथ दिने उनको भनाइ छ । यस क्षेत्रबाट देउवा २०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् ।

दीपक कुमार पाठक अर्थात् युग पाठक

युग पाठक स्थापित लेखक हुन् । ‘उर्गेनको घोडा, ‘माङ्गेना : युग मन्थन’ उनका चर्चिक पुस्तक हुन् । उनी लामो समय पत्रकारितामा सक्रिय व्यक्ति हुन् । उनी नागरिक आन्दोलनमा पनि सहभागी थिए ।

गृह जिल्ला मकावनपुरमा भएका पाठकले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चुनौती दिन झापा पुगेका हुन् ।

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा वामपन्थी गठबन्धका तर्फबाट एमाले उम्मेदवार केपी ओली निर्वाचित भएका थिए । उनले निकटतम प्रतिस्पर्धी कांग्रेका उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए ।

अप्दुस सलाम मिया अर्थात् अप्दुस मिया

अप्दुस मिया साझा पार्टीबाट सक्रिय रूपमा राजनीतिमा होमिएका हुन् । मियाँ साझा पार्टीका सबैभन्दा कान्छो केन्द्रीय सदस्य बनेर चर्चामा आएका थिए । साझा र विवेकशील एकता भएपछि उनी युवा संगठनको अध्यक्ष भए ।

साझा पार्टीको राजनीति सुरु गरेका उनी अहिले एमालेमा आइपुगेका छन् । उनी यस निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवारका रूपमा सहभागी भएका छन् ।

काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका मिया मुलुकमा चुनावी सरगर्मी बढ्दै गर्दा एमाले प्रवेश गरेर गोर्खाबाट उम्मेदवारी दिएका हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य प्रतिस्पर्धी मानेर चुनावी मैदानमा छन् । राजनीतिमा प्रवेश गर्नुअघि मियाँ विभिन्न सामाजिक अभियानमा सक्रिय थिए ।

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई निर्वाचित भएका थिए । यो निर्वाचनमा भट्टराईले अध्यक्ष दाहाललाई सहयोग गर्न उम्मेदवारी दिएनन् ।

अस्मिता सिंह उर्फ मानुषी यमि भट्टराई

मानुषी सफल राजनीतिज्ञ दम्पती डा. बाबुराम भट्टराई र हिसिला यमिको छोरी हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ७ का लागि सत्ता गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार हुन् ।

उम्मेदवार भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दा स्वर्ण पदक जितेकी थिइन् । उनी हाल विद्यावारिधि गर्दै छन् । उनी राजनीतिमा साथै विभिन्न सामाजिक अभियानमा सक्रिय छिन् ।

यो क्षेत्रबाट २०६४ सालमा उनकी आमा हिसिला निर्वाचित भएकी थिइन् भने २०७० पराजित भइन् । २०७४ को निर्वाचनमा यहाँबाट एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए ।

श्रीराम गुरुङ

श्रीराम गुरुङ काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार हुन् । उनी पेसाले पर्यटन व्यवसायी हुन् भने पत्रकारितामा विद्यावारिधि गर्दै छन् ।

उनी ‘पर्यटन नै समृद्धिको आधार’ मूल नाराका साथ चुनावी प्रचारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार गुरुङ फेसबुकमा चुनावी विज्ञापनमा सबैभन्दा बढी डलर खर्च गर्ने उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता ईश्वर पोख्रेल निर्वाचित भएका थिए ।

सुमन सायमि

सुमन सायमि हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार हुन् । उनी काठमाडौंका रैथाने हुन् । उनी राजनीतिसँगै विभिन्न सामाजिक अभियानमा सक्रिय छन् ।

स्थानीय तह निर्वाचनमा सायमिले काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका थिए । उनले त्यसबेला १३ हजार ७७० मत ल्याएका थिए । यसअघिको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमाले उम्मेदवार जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए ।

रन्जु दर्शना

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जु दर्शनाले यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार हुन् ।

उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता ईश्वर पोख्रेल निर्वाचित भएका थिए ।

पुकार बम

पुकार बम विवेकशील नेपाली दलबाट राजनीतिमा सक्रिय रूपमा लागेका हुन् । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार हुन् ।

उम्मेदवार बम कोरोनाकालमा ‘इनआफ इज इनअफ’ भन्दै सरकारको बेथितिविरूद्ध १२ दिन अनशन बसेका थिए । केही समयअघि उनले घरदैलो कार्यक्रमका स्वतन्त्रतका बारेमा मतदतालाई झुट बोलेको भिडियो भाइरल भएको थियो । जसमा उनले मतदातालाई स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टी एउटै भनेर झुट बोलका थिए तर मतदाताले झुटको खेती नगर्न आग्रह गरेका थिए ।

उनी प्रकाशमान सिंह, रवीन्द्र मिश्रलाई चुनौती दिन काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् ।

हिमेश पन्त

‘कमेडी च्याम्पियन’ सिजन १ का विजेता हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका भूमि त्रिपाठी विजयी भएका थिए । हिमेश ‘स्टयान्ड अप कमेडी’बाट उदाएका हास्य कलाकार हुन् ।