बुटवल । विद्यालयका बालबालिकामाथि शिक्षकले नै दुर्व्यवहार गरेका घटना बाहिर आइरहँदा बुटवलमा पनि उस्तै घटना सतहमा आएको छ।
छात्रालाई सामाजिक सञ्जालमार्फत र आमनेसामने हुँदा पनि यौनजन्य दुर्व्यहार गरेको गुनासो गर्दा पनि विद्यालय प्रशासन मौन बसेपछि विद्यार्थीले प्रधानाध्यापकको कार्यकक्ष तालाबन्दीमात्र गरेनन्, विद्यालय नै समेत बन्द गरिदिए। तर, आरोपित शिक्षकमाथि छानबिन र कारबाही अझै सुरु भएको छैन।
शुक्रबार पीडित छात्राका तर्फबाट इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । यो घटना हो बुटवलको उजिरसिंह माविको। बुटवलको उजिरसिंह माविका विद्यार्थीहरुले मंगलबार विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिदिए।
विद्यार्थीहरुको आरोप थियो, विद्यालयका एक शिक्षकले आफ्नै छात्रामाथि यौनहिंसा जन्य शब्द बोलेर डर देखाएको, त्यसका बारेमा प्रधानाध्याक पदमराज ज्ञवाली र अन्य शिक्षकसमक्ष पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएको। विद्यार्थीले आफ्ना साथीहरुसागै अभिभावक पनि बोलाएका थिए।
दबाबमा परेपछि विद्यालयले चलाएको छलफलमा पिडित छात्राले ती शिक्षकले सामाजिक सञ्जालमार्फत आफूलाई नराम्रा मेसेज गर्ने, बडि सेमिङ गर्ने लगायतका अवाञ्छित कार्य गर्ने गरेको कुरा सुनाइन्। आक्रोशित विद्यार्थी र अभिभावकले त्यसपछि विद्यालय नै बन्द गरिदिए।
आन्दोलित विद्यार्थीका कारण विद्यालयको पठनपाठन नै ठप्प भएपछि बुधबार बुटवल उपमहानगरपालिकामा प्रधानाध्यापक, शिक्षक र अभिभावकसहितको बैठक बस्यो । बैठकले विद्यालय खुलाउने र प्रमाण संकलन गरी छात्राको तर्फबाट न्यायका लागि प्रहरीमा उजुरी दिने निर्णय गरेको छ ।
प्रहरीलाई छानबिनको जिम्मा दिएका छौं । छात्रामाथि सरले के गर्नुभयो भनेको यौनजन्य हिंसा मिलापत्र गर्ने वा छलफल गर्ने विषय भएन । आरोप लगाइएका शिक्षकलाई सोमबारसम्म विदामा राखिएको छ । छात्रालाई प्रहरी र साइबर ब्युरोमा उजुरी दिन भनिएको छ ।
बिहीबारदेखि उजीरसिंह मावि विद्यालय खुलेको छ । शिक्षकले गरेको यौनजन्य हिंसाविरुद्ध छात्राका तर्फबाट शुक्रबार न्यायका लागि इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उजुरीपछि पनि शिक्षकले गरेको हिंसा बाहिर ल्याएका विद्यार्थीहरुले शिक्षकलाई कारबाही नभएको भन्दै विद्यालय गएका छैनन् ।
छलफको अगुवाइ गरेका बुटवल उपमहानगरका सामाजिक महाशाखा प्रमुख मित्रमणी खनालले भने यसबारेमा प्रतिक्रिया दिन मान्नुभएन । विद्यालयले आरोपित शिक्षकविरुद्ध आफूले कारबाही गरेको छैन । बरु आरोपित शिक्षकलाई केही दिन बिदामा राखेको जनाएको छ ।
बिदामा बसेका भनिएका शिक्षकलाई हामीले सम्पर्क गर्ने प्रयास त गर्यौं तर उनी सम्पर्कविहिन छन्। मोरङको सुकुना उच्च माध्यमिक विद्यालयमा पनि यस्तै प्रकृतिको घटनामा विद्यालय मौन बस्दा सामाजिक सञ्जालमार्फत विद्यार्थीले घटना बाहिर ल्याएपछि कारबाही सुरु भएको छ। यता बुटवलमा पनि विद्यालयको भूमिकामा शंका उत्पन्न भएको छ।