कोशी प्रदेशका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

चैत्र २५, २०८२ |सुशीला पाठक
कोशी प्रदेशका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य बीमामा २८ हजार ६१ हजार आठसय ५२ जना अर्थात् ५७ दशमल ५६ प्रतिशत नागरिक आबद्ध रहेका छन् ।

स्वास्थ्य बीमा कार्यालयका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले स्वास्थ्य बीमाको १०औँ स्थापना दिवसको उपलक्ष्यमा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा कुल बीमित परिवारको सङ्ख्या पाँच लाख ५७ हजार ७१२ परिवार अर्थात् ४९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यसैगरी कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या १९ लाख २५ हजार एकसय ९७ जना रहेका छन् भने नवीकरण ७३ दशमलव प्रतिशत गरेको उहाँले बताउनु भयो । यस्तै आर्थिक २०८१/८१ सम्ममा बीमितबाट रू चार अर्ब ९९ करोड १३ लाख ७२ हजार पाँचसय ७१ रकम संकलन भएको छ भने आर्थिक वर्ष २०८०/८१ सम्ममा १२ अर्व ७२ करोड ५८ लाख २८ हजार चारसय सात सेवा प्रदायक सस्थालाई भुक्तानी गरिएको छ।

प्रदेशमा बाेर्डअन्तर्गत सरकारी ९३ वटा, सामुदायिक पाँच र निजी २१ वटा गरी जम्ममा एकसय १९ वटा सेवा प्रदायक संस्थाहरू सुचीकृत भएका छन् । यसैगरी बीमा दर्ता सहयोगीका रूपमा एक हजार दुईसय ६६ जना रहेका छन् भने प्रदेशको १४ जिल्लामा यो कार्यक्रम विस्तार गरिएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले यो कार्यक्रमले आम नागरिकले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याएको बताउनुभयो । बीमाले स्वास्थ्य उपचार मात्र नभएर सामाजिक सुरक्षा र आर्थिक संरक्षण पनि गरेको विचार राख्नुभयो ।

मन्त्रालयका सचिव डाक्टर यदुचन्द्र घिमिरेले स्वास्थ्य विमामा प्रदेश सरकारले पनि सहयोग पुर्‍याउनु पर्ने सुझाव दिनुभयो । स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले स्वास्थ्य बीमाले नागरिकको आर्थिक जोखिम न्यून गर्ने भएको सबै नागरिकलाई आबद्ध गराउन जनचेतना वृद्धि गराउनुपर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा स्थानीय सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले नागरिकलाई उपचारमा कुनै भेदभाव नगरिएको दाबी गर्दै समयमा बीमाको रकम भुक्तानी हुनुपर्ने धारणा राख्नुभयो । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।