
काठमाडौं । दुर्घटनामा घाइते भएका तर बाँचेका यात्रुको समेत ज्यान जाने घटना किन हुन्छ ?
जस्तै उद्धार गरेर धादिङबाट काठमाडौं ल्याईँदै गरेका १५ मध्ये एकजनाको आज बाटैमा मृत्यु भयो। त्यो मृत्युमा दुर्घटनामात्र जिम्मेवार छैन, हाम्रो स्वास्थ्य प्रणालीसमेत जिम्मेवार छ, घोषणा गर्ने तर काम नगर्ने सरकार पनि जिम्मेवार छ। दुर्घटना हुँदा उद्धारसँगै अर्को प्रमुख आवश्यकता हो, घाइतेको तत्काल प्राथमिक उपचार र अस्पतालसम्म पुर्याउने सुविधा। तर, नेपालमा बर्सेनि ४३ हजारभन्दा बढी सवारी दुर्घटना हुने गरे पनि यस्तो कुनै व्यवस्था हुन सकेको छैन।
यतिसम्म कि अस्पतालसम्म पुर्याउन प्रयोग गरिने एम्बुलेन्समा समेत आधारभूत उपचार सुविधा हुँदैनन्। अर्कोतिर, दुर्घटनामा परेका बिरामीको उपचारका लागि सातै प्रदेशमा बनाउने ट्रमा सेन्टर बनाउने सरकारको निर्णय कार्यान्वयन पनि सुस्त छ।दुर्घटनामा परेका घाइतेको तत्काल उपचारका लागि सरकारले ६ वर्षअघि गरेको निर्णय समयमै कार्यान्वयन भएको भए कुरा अर्कै हुने थियो।
उतिबेला सातै प्रदेशका राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा भएको थियो। तर काम भएन। त्यसकारण धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीनजिकै सोमबार भएको बस दुर्घटनाका घाइतेको उपचारका लागि तीन घन्टा टाढा काठमाडौंको ट्रमा सेन्टर नै पुर्याउनुपर्यो।
१५ जना घाइतेलाई एम्बुलेन्समा राखेर यति लामो बाटो काठमाडौं ल्याउँदै गर्दा एकजनाको बाटैमा मृत्यु भयो। सरकारले आफ्नै घोषणा गम्भीरतापूर्वक कार्यान्वयन गरेको भए उनीमात्र होइन, यसबीचमा धेरैको ज्यान जोगिने थियो। एक त उपकरण अभावले उद्धारमै ढिलाइ त्यसमाथि अस्पताल पुर्याउन अर्को समस्या। कुरा सुनेर नागरिकमात्र होइन, चिकित्सकहरू पनि हैरान हुन्छन्।
अहिले काठमाडौं र भरतपुरमा ट्रमा सेन्टर सञ्चालनमा छ । आर्थिक वर्ष २०८०-८१ को बजेटमै कैलालीको लम्की, रूपन्देहीको सालझण्डी, नवलपरासी पश्चिमको बर्दघाटलगायतका स्थानमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने भनेर उल्लेख गरिए पनि जग्गा प्राप्ति तथा डीपीआर विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन ।
दुर्घटनाका बेला अर्को ठूलो समस्या हो प्राथमिक उपचारको । घाइतेलाई अस्पतालसम्म लैजाने क्रममा राम्रो प्राथमिक उपचार दिन सके ज्यान बचाउने सम्भावना उच्च हुन्छ । यसका लागि घाइतेहरूलाई सुरक्षित स्थानमा ल्याउनुपर्छ । अस्पताल पुर्याउन प्रयोग हुने एम्बुलेन्समा पनि अक्सिजन र अन्य उपरकण, पर्याप्त मेडिकल किट र दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने हुन्छ । तर, नेपालमा न घाइतेले तत्काल उपयुक्त प्राथमिक उपचार पाउँछन् न एम्बुलेन्समा बिरामीका लागि चाहिले सुविधा नै।
जसका कारण बचाउन सकिने बिरामीको समेत अस्पताल पुर्याउने क्रममा मृत्यु हुने गरेको छ। दुर्घटनालगत्तै सुरक्षा निकायहरू उद्धारमा खटिए पनि घाइतेहरूको प्राथमिक उपचारदेखि सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने विषयमा समेत तालिम अभाव छ ।
एम्बुलेन्समा समेत प्राथमिक उपचारको व्यवस्था नहुँदा चालकका भरमा अस्पताल पुग्नुपर्ने अवस्था छ । सरकारले दुर्घटनापछि हुने गरेका क्षति न्यूनीकरणका उचित तालिम, एम्बुलेन्सको मापदण्ड नियमनदेखि जनचेतनासम्मको काम गर्नु जरूरी छ ।