काठमाडौं । सरकारले आइतबार पनि बिदा निर्णय त गर्यो तर यसले स्वास्थ्य संस्थाहरूमा अलमलको स्थिति सिर्जना गरेको छ।
त्यतिमात्र होइन, यसले बिरामीसमेत प्रभावित हुने देखिएको छ। आइतबार सार्वजनिक बिदा दिने नियम लागू गरेपछिको आज पहिलो आइतबार हो । अस्पतालहरूमा भने आइतबार बिदाको नियम कतै कार्यान्वयन भयो भने कतै कार्यान्वयनमा छैन । अर्थात् कुनै अस्पताल खुलेका छन् केही भने बन्द।
केही आंशिक रूपमा खुलेका पाइए । तर, सेवा खुला भएका अस्पतालहरू समेत आगामी दिनमा के गर्ने भन्नेबारे अलमलमा छन्। बन्द भएका अस्पतालहरूमा भने बिरामीले सास्ती खेप्नुपर्यो । बिदाको नियम सबैतिर लागू हुनुपर्ने माग कतिपय चिकित्सकको छ। तर, समयमा सेवा पाउनुपर्ने बिरामीका लागि के गर्ने ? उपाय खोज्नु पनि उत्तिकै आवश्यक छ।
ललितपुरकी अंशुमाया महर्जन उपचारका लागि आइतबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुग्नुभयो । फलोअपको लागि अस्पताल पुग्नुभएकी महर्जनलाई अस्पताल बिदा छ भन्ने थाहा थिएन । डाक्टर भेट्न नपाएपछि उहाँ निरास देखिनुहुन्थ्यो ।
उहाँ मात्र हैन, त्रिवि शिक्षण अस्पताल पुग्ने बिरामीहरू टिकट काउन्टर बन्द देख्दा आश्चर्यमा परे, आइतबारको बिदा हो भन्ने थाहै भएन। बहिरंग विभाग बन्द थियो। आइतबार बिदाको नयाँ व्यवस्था कार्यान्वयमा आएको पहिलो आइतबार भएकाले बिरामी आइहाले समस्या नहोस् भनेर जेनरल क्लिनिक केही समयका लागि चलाइएको त थियो, तर निश्चित चिकित्सक भेट्न भनेर आएका पुराना र नयाँ बिरामी अलमलमा पर्नु स्वभाविक रह्यो, बिदा भन्ने थाहा पाएपछि घर फर्किनुको विकल्प रहेन।
बहिरंग बन्द भए पनि चिकित्सकहरूले केही बिरामीलाई अस्पताल प्राङ्गणमै सल्लाह दिइरहेका थिए। तर, त्यतिले पर्याप्त भएन। त्रिवि कार्यकारी परिषदको २३ गतेको बैठकले मातहतका सबै संस्थालाई आइतबार बिदा दिने निर्णय गरेकाले अस्पतालहरूमा पनि त्यो लागु भएको हो ।
यता देशकै जेठो अस्पताल वीर अस्पताल भने आइतबार पनि सञ्चालनमा थियो । स्वास्थ्य मन्त्रालयले शुक्रबार नै अस्पतालाई कार्यबोझ र उपलब्ध जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउनु भनेपछि वीर अस्पतालले भने अर्को निर्णय नभएसम्म आइतबार पनि अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ। तर, अन्य सरकारी कार्यालयका लागि लागू गरिएको बिदा आफ्नोमा लागू नहुँदा चिकित्सक र कर्मचारी सन्तुष्ट छैनन् ।
यता चिकित्सक संघले भने मन्त्रीपरिषद्ले नै आइतबार बिदा दिन निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई उपलब्ध जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउनुपर्ने निर्णय प्रति आफ्नो गम्भीर आपत्ति रहेको बताउँछ । २०४८ सालदेखि स्वास्थ्यको जनशक्ति नथपिएकाले जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म स्वास्थ्य मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न नसक्ने चिकित्सक संघको भनाइ छ ।
हो, सरकारले दिएको सार्वजनिक बिदाको नियम सबै सरकारी कर्मचारीहरूलाई उत्तिकै लागू हुनुपर्नेमा कुनै दुइमत छैन । तर, नागरिकले स्वास्थ्य उपचारमा उसै त सास्ती पाइरहेकोमा आइतबारको बिदाले झनै समस्या पर्ने निश्चित छ । यस्तोमा सरकारले जनशक्तिको उचित व्यवस्थापन गरेर सेवा सञ्चालन गर्नुको विकल्प छैन।
स्वास्थ्यकर्मी र बिरामी दुबैलाई मर्का नपर्ने वैज्ञानिक विधि खोज्ने जिम्मेवारी भने सरकार र स्वास्थ्य संस्था दुबैको हो।