इलामको जमुनामा ग्रामीण पर्यटन प्रवर्द्धन, नियमित आयआर्जनले स्थानीयको जीवनस्तर अभिवृद्धि

चैत्र १३, २०८२ |विप्लव भट्टराई
इलामको जमुनामा ग्रामीण पर्यटन प्रवर्द्धन, नियमित आयआर्जनले स्थानीयको जीवनस्तर अभिवृद्धि

इलाम । इलामको सन्दकपुर गाउँपालिका पाँच जमुनाका बासिन्दा ग्रामीण पर्यटन विकासमा लागि परेका छन् । 

पर्यटन प्रवर्द्धनसँगै आयआर्जन पनि हुने भएकाले यहाँका स्थानीय आफ्नो गाउँघर आसपासमा रहेका विभिन्न तलाउ, पोखरी र मठ मन्दिरलगायतको संरक्षणमा लागेका छन् । सिमसार संरक्षणसँगै धार्मिक, सांस्कृतिक र जैविक विविधताको रक्षा गर्दै उत्तरी इलामको जमुनाका स्थानीय पर्यटन विकासमा नयाँ उदाहरण पेस गरेका छन् । 

स्थानीय प्रयासमा संरक्षण र विस्तार गरिएको ढापपोखरी पर्यटन आर्कषणको नमुना बनेको छ । पछिल्लो समय पोखरी र आसपासको वातावरणीय सुन्दरतामा रम्न भारतीय पर्यटक आउन थालेका छन् । करिब ५५ रोपनी भू-भाग पानीले ढाकेको पोखरीको संरक्षणमा चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति सक्रिय छ । 

पोखरी नजिकै गौरेश्वर शिवायल धाम निर्माण भएको छ । पोखरीको आसपासमा बौद्ध गुम्बा र किराात मन्दिर रहेका छन् । जसका कारण धार्मिक पर्यटकका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको हो । यहि क्षेत्रमा जिल्लाकै ठूलो गजाधर धनमाया भट्टराई रंगशाला निर्माणाधीन अवस्थामा छ । 

यसले खेल पर्यटन प्रवर्द्धनमा सघाएको छ । यी सबै सम्भावनाका क्षेत्रलाई पर्यटनसँग जोडेर गाउँको मुहार फेर्ने अभियानमा स्थानीय छन् । रेडपाण्डा र काँडे भ्याकुरसहित विभिन्न प्रजातीका लोपोन्मुख जनावार र चराचुरूङ्गी पाइने हाागेथाम अर्को आकर्षणको केन्द्र हो । 

विक्रम संवत १८९६ मा निर्मित पुरानो गुम्बा यहाँको अर्को आकर्षण हो । जमुनाकै जौवारीमा हिमश्रृङ्खला दृष्यावलोकनसहित रेडपाण्डा पाइने भएकाले पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । चोयाटार रेडपाण्डा र नुनथला पुतलीका लागि प्रख्यात छ । इलाम सदरमुकामबाट ३० किलोमिटर उत्तरमा पर्ने यी पर्यटकीय क्षेत्रलाई जोडर एकीकृत योजना ल्याएर प्रवर्द्धन गर्न जरूरी छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।