
काठमाडौै । भारतमा निपाह भाइरसका संक्रमित भेटिएसंगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा निपाह भाइरसको संक्रमण पुष्टि भएको त भएको छैन तर छिमेकी देशमा संक्रमण पुष्टि भएसंगै नेपाल पनि उच्च जोखिममा रहेको चिकित्सकहरु बताउँछन् ।
निपाह भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा देखा परेको थियो । यो भाइरस फलफूल खाने चमेरा अर्थात् फ्रुट ब्याटबाट सर्ने गरेको अध्ययनहरूले देखाएका छन्। पछिल्लो पटक यो भाइरस भारतलगायत दक्षिणपूर्वी एसियाका केही देशहरुमा समेत देखापरिरहेको छ ।
यसको संक्रमणबाट सन् २०२५ मा भारतमा २ जनाको मृत्यु भएको थियो भने २०२६ यता मात्रै भारतको पश्चिम बंगालमा २ जनामा यसको संक्रमण पुष्टि भएको बताइएको छ । यो भाइरस मुख्य गरेर चमेरो, बंगुर लगायतका जनावरबाट सर्ने जोखिम बढी भए पनि मानिसमा संक्रमण भएमा अन्यलाई पनि सार्ने सम्भावना हुन्छ ।
निपाह भाइरसले मानिसमा मस्तिष्क सुन्निने उच्च ज्वरो, टाउको दुख्ने, वान्ता, श्वासप्रश्वासमा समस्या हुँदै अन्ततः मृत्युसमेत गराउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ । भारतमा संक्रमण देखिएसंगै सीमावर्ती नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
सरकारले तयारी तीब्र बनाएको बताइरहे पनि नाका बाहेकका स्थानबाट पनि नेपाल सजिलै प्रवेश गर्न सक्ने अवस्था छ । विगतमा पनि कोभिड भित्रन नदिन सरकारले तयारी तीब्र बनाएको दाबी गरे पनि कोभिडकै कारण १२ हजारभन्दा बढीको मृत्यु भएको थियो । तसर्थ सरकारले जोखिमको आँकलन गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जरुरी छ भने आम सर्वसाधारणले पनि सतर्कता अपनाउन जरुरी छ ।