
उदयपुर । वर्षौं अँध्यारोमा जीवन गुजार्दै आएकाहरूका लागि जिल्ला-जिल्लामा हुने आँखा शिविर वरदान बनेका छन् ।
उदयपुरको चौदण्डीगढीमा राखिएको यस्तै शिविरमा शल्यक्रिया पछि झन्डै ५ सय जनाले गुमेको ज्योति फिर्ता पाएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ डुङ्गाहाकी ५० वर्षिया पनिया सदाले तीनवर्षपछि आज उज्यालो देख्न पाउँदा खुसीको सिमा नै रहेन ।
हिजो मोतियाबिन्दु सल्यक्रिया भएकी उहाँको आज बिहान डा. सन्दुक रूईत र मेयर कालुमान लामाले आँखाको पट्टी खोलिदिएपछि सबैभन्दा पहिले परिवारका सदस्याहरूलाई देखेर उहाँ हर्ष विभोर हुनुभयो । सदाले विरामी परेर एक्कासी दृष्टि गुमाउनु भएको थियो ।
त्यस्तै रौतामाई गाउँपालिका-२ बोझेपानीकी ५० वर्षिया चरिमाया तामाङले पनि तीनवर्ष पछि गुमेको आँखाको ज्योति पाउनुभयो । उदयपुरको चौदण्डिगढी नगरपालिकाले बेल्टारस्थित कोभिड हस्पिटल भवनमा तिलगङ्गा आँखा अस्पतालसंगको सहकार्यमा आयोजना गरेको आँखा उपचार शिविरमा उनीहरू जस्तै ४५० भन्दा बढीले आँखाको ज्योति पाउँदैछन् ।
मोतियाबिन्दु उपचारमा प्रशिद्ध डा. रूईत स्वयमको प्रत्यक्ष निगरानीमा उनीहरूको सल्याक्रिया भइरहेको छ । गरिबीका कारण अस्पतालसम्म उपचार गर्न जान नसक्ने आाखाका बिरामीहरूलाई लक्षित शिविर तीनदिनसम्म सञ्चालन हुनेछ । शिविरमा चौदण्डिगढीलगायत जिल्लाका सबै पालिकाका बिरामीहरूले नि:शुल्क सेवा पाएका छन् ।
मोतियाबिन्दु बिरामी पत्ता लगाउन यसअघि चौदण्डीगढि, बेलका र त्रियुगा नगरपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको थियो ।