दलहरूकाे घोषणा पत्रमा स्वास्थ्य क्रान्तिको नारा, ग्रामीण भेगमा अझै सेवा अभाव

जनताको संशय यथावत्
फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
दलहरूकाे घोषणा पत्रमा स्वास्थ्य क्रान्तिको नारा, ग्रामीण भेगमा अझै सेवा अभाव

काठमाडौं । संविधानले स्वास्थ्य सेवालाई आम नागरिकको नैसगिक र मौलिक हकको रूपमा स्थापित गरेको छ । तर अहिले पनि गरिब विपन्न नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्न सकेको छैनन् । 

आसन्न निवार्चनमा राजनीतिक दलहरूले घोषणा पत्रमा स्वास्थ्य सेवालाई कति प्राथमिकता दिएका छन् त ? सबैजसो दलले आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गुणस्तरीय र स्वास्थ्य बीमाको पहुँच वृद्धि गर्ने विषय घोषणा पत्रमा समावेश गरेका छन् ।

गरिब विपन्न र ग्रामीण तथा दुरदराजका जनताले अहिले पनि विशेषज्ञ सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा पाएका छैनन् । राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रमा आकर्षक नारा बुन्दै जनताको विश्वास जित्ने खालका निर्वाचन केन्द्रित घोषणपत्र र प्रतिबद्धता पत्र जारी गरिसकेका छन् । 

त्यसमध्ये नेपाली कांग्रेसले आर्थिक अभावका कारण कसैले पनि स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने प्रतिबद्धता गरेको छ । सबैलाई स्वास्थ्य बीमाको पहुँच सुनिश्चित गरी सबै नेपालीले सुरक्षित रूपमा गुणस्तरीय सेवा नि:शुल्क पाउने वातावरण बनाउने र गाउँ-गाउँमा डाक्टर स्वास्थ्यकर्मी व्यवस्था गर्ने भनेको छ ।

नेकपा (एमाले)ले भने आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुर्याउने भनेको छ । सबै तहमा अस्तपालका पूर्वाधार निर्माण गर्ने र व्यवस्थापकीय सुधार गरी बीमा प्रणालीको संरचनात्मक सञ्चालनमा सुधार ल्याउने एमालेको घोषणा पत्रमा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सबै जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा विशेष प्राथमिकताका साथ विस्तार गर्ने भनेको छ । स्वास्थ्य बीमा कार्यकमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चितत हुने गरी विस्तार गने वाचापत्रमा उल्लेख छ ।

यत्ता नेपाली कम्युनिष्ट पार्टी-नेकपाले जनस्वास्थ्य सेवा नि:शुल्क संविधानप्रदत्त मौलिक हकको रूपमा पूर्ण कार्यान्वयनमा ल्याइने प्रतिबद्धता गरेको छ। स्वास्थ्य बीमा अनिवार्य प्रगतिशील स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाइने उल्लेख छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने स्वास्थ्य सेवा नि:शुल्क र ज्येष्ठ तथा अशक्त नगारिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने घोषणा गरेको छ भने जनता समाजवादी पार्टी नेपालले स्वास्थ्य सेवा नि:शुल्क र बीमा कार्यक्रम सबैको सहज पहुँचमा पुर्याउने भनेको छ ।

त्यसो त अहिले पनि स्वास्थ्य क्षेत्रमा चिकित्सक नर्सलगायतका जनशक्तिको अभाव छ । भएका जनशक्तिलाई सेवा प्रदायक संस्थाहरूले उचित सेवा सुविधा नदिँदा निराश छन् भने धेरैजसो विदेशिने गरेका छन् । स्वास्थ्य क्षेत्र जस्तो महत्वपूर्ण विषय सरकारको प्राथमिकतामा नपर्दा बजेट पनि निकै कम विनियोजन हुने गरेको छ । 

क्यान्सर, मिर्गौला, कलेजो, प्रत्यारोपण र मुटु रोगजस्ता कडा रोगको उपचार महंगो हुने भएकाले दलहरूले यसलाई बीमामार्फत राहतको व्यवस्था गर्ने भनेका छन् । जनताको विश्वास जित्न दलहरूले चुनावी घोषणा पत्रमार्फत गरेका आकर्षक र महत्वकांक्षी योजना कार्यान्वयन गर्ने हो आम जनताले स्वास्थ्य सेवा नि:शुल्क मात्र नभइ गुणस्तरीय सेवा पाउन सम्भव छ । तर विगतका अनुभव हेर्दा सरकारमा गएपछि ती विषय कसरी कार्यान्वयन हुन्छन् भन्ने प्रश्न भने अनुत्तरित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.