
काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै उहाँले मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताउनु भयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने उहाँकाे भनाइ छ।
भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने उहाँले बताउनु भयो । योग ध्यानलाई गाउँ-गाउँमा पुर्याउनको लागि सबैले प्रयास गर्न पनि उहाँले आग्रह गर्नुभयो । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयाे ।
योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलाप गर्ने दिनको रूपमा अघि बढाउनेबारे कुरा उठाएको पनि उहाँले दाबी गर्नुभयो । मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताउनु भयो ।