
काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताउनुभएको छ ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताउनु भयो ।
आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको उहाँले जिकिर गर्नुभयो । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षिय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरू परेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताउनु भयो । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाएको उहाँकाे भनाइ छ।