एनपीएलमा विराटनगर किंग्सकाे लगातार दोस्रो जित

मंसिर ६, २०८२ |खेल ब्युरो
एनपीएलमा विराटनगर किंग्सकाे लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेर शीर्ष स्थानको सुदूरपश्चिम रोयल्ससँग अंक बराबरी गरेको छ। 

टियु क्रिकेट स्टेडियममा एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर एक बलमा पाँच विकेट गुमाएर जित हाासिल गरेको हो। विराटनगरको जितमा मर्चेन्ट डि लेङ्गेले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए। विरटनगरको पहिले फिल्डिङ गर्ने योजनामा सुरूआतमै प्रभावशाली देखियाे । 

काठमान्डुले चार ओभर एक बलमा नै १३ रन बनाएको अवस्थामा तीन विकेट गुमाएको छ। मर्चेन्ट डि ल्याङ्गे र प्रतिश जिसीले खेलमा स्वप्निल सुरूआत दिलाए। ओपनर आकाश त्रिपाठीलाई डि ल्याङ्गेले शून्यमा सन्दिप लामिछानेबाट क्याचआउट गराए। त्यसैगरी रिकार्डो भास्कोन्सेलोस पनि तीन रन बनाएर आउट भए। प्रतिक श्रेष्ठले मात्रै दुई रन बनाउन सके।

जेरार्ड इरास्मसले १० र सन्तोष यादवले २६ रनको योगदान गरेका थिए। तर सातौं नम्बरमा मैदान प्रवेश गरेका मोहम्मद आदिल आलमले उत्कृष्ट फिनिसिङ गरेपछि काठमान्डुले राम्रो लक्ष्य प्रस्तुत गर्न सकेको थियो। मर्चेन्टले चार ओभर बलिङ गर्दै १७ रन मात्रै खर्चिएर दुई विकेट लिएका थिए। खेलमा सुभम रञ्जने, सूर्य तामाङ र सन्दिप लामिछानेले समान एक-एक विकेट लिएका थिए।

जवाफमा विराटनगरले सुरूआतबाटै सम्हालिएर खेलेको थियो। लोकेश बम १० रनमै आउट भए पनि जर्ज मुन्से र मार्टिन गप्टिलले दोस्रो विकेटको लागि ५३ रनको अर्धशतकीय पारी खेल्दै जितको आधार तयार गरिदिए। सर्वाधिक ३६ रन बनाएका मुन्जीलाई शाहब आलमले एलबिडब्ल्यु धरापमा पार्दै यो साझेदारी तोडेका थिए। 

गप्टिललाई पनि शाहबले इरास्मसबाट क्याचआउट गराए। बसिर अहमदले १९ र नरेन भट्टले २४ रन बनाएपछि पाँच विकेट गुमाउँदा विराटनगर जितको नजिकै पुगेको थियो। साहबले २ तथा करण केसी, गेरार्ड इरास्मस र सन्तोष यादवले एक-एक विकेट लिए पनि विराटनगरलाई जितसम्म पुुग्नबाट रोक्न सकेनन्।

यससागै काठमान्डु गोर्खाजले आफ्नो तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ। पहिलो खेलमा जनकपुरलाई हराएको गोर्खाजले यसअघि सुदूरपश्चिम रोयल्सलाई हराएको थियो।