
काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी स्वास्थ्य संस्थाका नर्सहरू सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् ।
निजी मेडिकल कलेजहरू र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै सरकारी पाँचौं तह सरह मासिक ३४ हजार ७ सय ३० रूपैयाँ तलब दिलाउने सहमति भएपछि उनीहरू काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नर्सहरू र निजी मेडिकल कलेज तथा अस्पतालसँग २३ बुँदे सहमति भएको जानकारी दिनुभयो ।
स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ ।